|  

अतिरिक्त भत्ता नपाएपछि बैतडीका चिकित्सक र स्वास्थ्यकर्मी बने आन्दोलित

२७ बैशाख, काठमाडौं । जिल्ला अस्पताल बैतडीमा कार्यरत चिकित्सक र स्वास्थ्यकर्मीहरु आन्दोलित भएका छन् ।

उनीहरुले आफूहरुले काम गरेको अतिरिक्त समय र सार्वजनिक बिदाको दिन गरेको कामको अतिरिक्त भत्ता नपाएको भन्दै आन्दोलित भएका हुन । बुधबार एक विज्ञप्ति जारी गर्दै उनीहरुले आकस्मिक बाहेकका सबै सेवा बन्द गर्ने चेतावनी समेत दिएका छन् । चालु आर्थिक बर्षमा चिकित्सक तथा स्वास्थ्यकर्मीहरुले अतिरिक्त भत्ता, जोखिम भत्ता लगायतका सुविधाहरु नपाएको र बेलाबेलामा सम्बन्धित निकायको ध्यानाकर्षण गराउँदा समेत कुनै सुनुवाइ नभएपछि आन्दोलनमा उत्रिनुपरेको अस्पतालमा कार्यरत डा सुरज नेपालीले बताएका छन् । 

अतिरिक्त भत्ता र जोखिम भत्ताका बिषयमा सबै निकाय र सामाजिक विकास मन्त्रालयको समेत ध्यानाकर्षण गराइसकेको तर कुनै सुनुवाई नभएको अस्पतालको प्रयोगशाला विभागका प्रमुख चन्द्रसिंह डोबालले बताए । आफूहरुलाई बेलाबेलामा झुटो अश्वासनमात्रै दिने गरेको तर समस्याको समाधान नभएपछि आकस्मिक बाहेकका सबै सेवाहरु बन्द गर्ने अवस्थामा पुगेको उनको भनाई छ ।