|  

त्रिविको विकृति र विसङ्गति रोक्न सरकारको पहल जारीः शिक्षामन्त्री सुमना 

२७ बैशाख, काठमाडौं । शिक्षा विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले त्रिभुवन विश्वविद्यालयमा भइरहेका विकृति र विसङ्गति रोक्न सरकारले पहल गरिरहेको बताएकी छन् ।

प्रतिनिधिसभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको आजको बैठकमा मन्त्री श्रेष्ठले यस्तो बताएकी हुन् । उनले विद्यालय शिक्षा र उच्च शिक्षाबीच ठूलो खाडल रहेकाले उक्त खाडललाई अन्त्य गर्ने गरी कार्य प्रारम्भ गरेको समेत प्रष्ट पारिन । विद्यालय शिक्षा र उच्चशिक्षाको साझा गन्तव्य मुलुकका दक्ष जनशक्ति उत्पादन गरी रोजगारी सिर्जना रहेकाले त्यसअनुसार योजना बनाउन विश्वविद्यालयहरुका नेतृत्वलाई आग्रह गरिएको जानकारी दिइन ।

यसैवीच, सो विश्वविद्यालयका उपकुलपति प्रा.डा केशरजङ्ग बरालले विश्वविद्यालयमा राजनीतिक दलहरुले भातृ सङ्गठन सञ्चालन गर्दासम्म प्राज्ञिकलगायत समग्र सुधार गर्न कठिन हुने बताए । उपकुलपति डा.बरालले आगामी वर्षदेखि विश्वविद्यालयको शैक्षिक पात्रो कार्यान्वयन गर्ने प्रतिवद्धता व्यक्त गर्दै उच्चशिक्षाका नाममा विदेश जाने युवा विद्यार्थीलाई रोक्ने योजना रहेको बताए ।