|  

हामी सरकार ढाल्ने खेलमा लाग्दैनौँः स्वास्थ्यमन्त्री यादव

२८ बैशाख, काठमाडौं । उपप्रधानमन्त्री एवं स्वास्थ्य तथा जनसंख्यामन्त्री उपेन्द्र यादवले आफुहरुको कारणले सरकार नढल्ने दाबी गरेका छन् ।

जनता समाजवादी पार्टी नेपालका अध्यक्ष समेत रहेका उपप्रधानमन्त्री यादवले स्थिर सरकारका पक्षमा रहेकाले जसपा नेपालको फुटले सरकारलाई कुनै असर नगर्ने बताएका हुन् । उनले आफ्नो पार्टीले राजनीतिक स्थिरता, सुशासन, विकास, समृद्धि र संघीय गणतन्त्रको स्थायित्व खोजेकाले सरकार ढाल्ने खेलमा नलाग्ने प्रष्ट पारे । उनले पार्टी फुटाएको विषयमा सर्वोच्च अदालतमा न्यायका लागि जाने बताए ।

पार्टी फुटाएर षडयन्त्रपूर्वक अस्वाभाविक, सिद्धान्तविहीन रुपमा अनैतिक र असंवैधानिक कार्य गरेको उल्लेख गर्दै उपप्रधानमन्त्री यादवले अदालतले पार्टी फुटलाई बदर गर्ने विश्वास रहेको बताए । नयाँ पार्टीको नाम, झण्डा र लोगो एउटै भएको अवस्थामा अघिल्लो दिन साँझ आवेदन लिएर भोलिपल्ट पार्टी दर्ता गराएको उनको आरोप थियो ।