|  

त्रिविसँग मासिक करोडौँ पेन्सनको नाममा खर्च गर्ने क्षमता छैन

२८ बैशाख, काठमाडौँ । त्रिभुवन विश्वविद्यालयले अवकाशप्राप्त शिक्षक कर्मचारीहरूलाई पेन्सनको नाममा मासिक २५ करोड रूपैयाँ खर्च गर्दै आएको छ ।

आगामी आर्थिक वर्षमा पेन्सनका लागि ३० करोड खर्च गर्नुपर्ने अवस्था आएको त्रिविले जनाएको हो । २०९० बाट भने धेरै कर्मचारीहरूले अवकाश पाउने र उनीहरूलाई पेन्सन दिन मासिक ४० करोड खर्च गर्नुपर्ने त्रिविका रेक्टर प्रा.डा.केदारप्रसाद रिजालले जानकारी दिए । यसरी मासिक करोडौँ रुपैयाँ पेन्सनको नाममा खर्च गर्न सक्ने क्षमता त्रिविसँग नरहेको उनको भनाइ छ । त्रिभुवन विश्वविद्यालयमा १६ हजार २२ जना शिक्षक कर्मचारीको दरबन्दी छ । ती मध्ये धेरै जसो दरबन्दी खाली छ । विश्वविद्यालयका विभिन्न निकायहरूमा ७ हजार ६ सय ७४ कर्मचारी छन् ।

त्यस्तैगरी ५ अध्ययन संस्थान, ४ सङ्काय र अनुसन्धान केन्द्रहरूमा ८ हजार ३४० शिक्षकहरू छन् । यसका अतिरिक्त आङ्गिक क्याम्पसहरूमा करारमा, कोर्स करारमा र आंशिकमा ठुलो सङ्ख्यामा शिक्षकहरू छन् । आङ्गिक क्याम्पसहरूले ठुलो सङ्ख्यामा विश्वविद्यालयको स्वीकृत लिएर आन्तरिक स्रोतबाट तलब दिने गरी करारमा शिक्षकहरूलाई नियुक्ति दिइएको छ । विश्वविद्यालयहरूमा केही केन्द्रीय विभागहरूमा र आङ्गिक क्याम्पसहरूमा केही शैक्षिक कार्यक्रमहरूमा विद्यार्थी छैनन्, तर, शिक्षक मात्रै छन् । कहीँ विद्यार्थी सङ्ख्या भन्दा बढी शिक्षक छन् । कुनै सङ्कायमा आवश्यक भन्दा कम शिक्षकहरू छन् ।

त्रिविले जनशक्ति व्यवस्थापन तथा दरबन्दी पुनरावलोकनका लागि समिति गठन गरेको छ । प्राडा नवराज कँडेलको संयोजकत्वमा समिति गठन गरेको हो । उक्त समितिले शिक्षक कर्मचारीको व्यवस्थापन, दरबन्दीको पुनरावलोकन लगायतका विषयमा अध्ययन गरेर त्रिविलाई प्रतिवेदन पेस गर्नेछ । समितिले दिएको प्रतिवेदनको आधारमा आवश्यक कार्य अघि बढ्ने रजिस्ट्रार रिजालले बताए ।