|  

विकास खर्च ३७ प्रतिशत मात्रः असारे खर्च बढ्ने निश्चित 

०१ जेठ, काठमाडौं । चालु आर्थिक वर्ष २०८०/०८१ को दश महिना सकिँदा पूँजीगत खर्च भने ३७ प्रतिशत मात्र पुगेको छ ।

यसले पुनः एकपटक असारे खर्च बढ्ने निश्चित देखिएको छ । कुल ३ खर्ब २ अर्ब रुपैयाँ पूँजीगत खर्च गर्ने लक्ष्य राखेको सरकारले वैशाख मसान्तसम्म १ खर्ब ११ अर्ब ८८ करोडमात्र खर्च गर्न सकेको छ । यो लक्ष्यको ३७ प्रतिशत मात्र हो । महालेखा नियन्त्रक कार्यालयका अनुसार वैशाख मसान्तसम्म कुल बजेट खर्च १० खर्ब नाघेको छ । जुन लक्ष्यको ६०.३५ प्रतिशत हो । यस वर्ष सरकारले १७ खर्ब ५१ अर्ब रुपैयाँको बजेट कार्यान्वयन गरिरहेको छ । चालु खर्च र वित्तीय व्यवस्थामा भएको खर्च उल्लेख्य बढ्दा पूँजीगत खर्च भने यस वर्षसमेत दयनीय देखिएको छ ।

महालेखा नियन्त्रकको कार्यालयको तथ्यांक अनुसार राजस्व संकलनमा समेत उत्साह देखिएको छैन । सोमबारसम्म ८ खर्ब ३१ अर्ब ९३ करोडमात्र राजस्व उठेको छ । जुन लक्ष्यको ५८.४८ प्रतिशत हो । राजस्वमा पनि कर राजस्वको संकलन ५७.२१ प्रतिशत मात्र देखिन्छ । यस वर्ष सरकारले १४ खर्ब २२ अर्ब बराबर राजस्व संकलन गर्ने लक्ष्य राखेको छ । यस वर्ष सरकारले अनुदानबाट २ अर्ब ७५ करोडमात्र प्राप्ति गर्न सकेको छ । यो लक्ष्यको ५.५२ प्रतिशत हो

यस वर्ष सरकारको आम्दानीको तुलनामा खर्च झन्डै २ खर्ब बढी देखिएको छ । जसले गर्दा खर्च चलाउन सरकारले ऋणमा भर पर्नुपरेको देखिन्छ । महालेखा नियन्त्रकको कार्यालयका अनुसार सरकारको आम्दानी ८ खर्ब ५७ अर्ब हुँदा खर्च १० खर्ब ५६ अर्ब पुगेको छ । तथ्यांक अनुसार आम्दानीभन्दा खर्च १ खर्ब ९९ अर्बले धेरै देखिन्छ ।