|  

ज्येष्ठ नागरिकलाई घरमै स्वास्थ्य सेवाको व्यवस्था गर्ने सरकारको घोषणा

०१ जेठ, काठमाडौं । आगामी आर्थिक वर्ष २०८१/०८२ को नीति तथा कार्यक्रममा सरकारले ज्येष्ठ नागरिकलाई घरमा नै स्वास्थ्य सेवा तथा औषधि उपचारको व्यवस्था गर्ने उल्लेख गरेको छ ।

ज्येष्ठ नागरिकहरूलाई स्वास्थ्य सेवा लिनका लागि कठिनाइ भएको अवस्थालाई ख्याल गर्दै सरकारले यस्तो नीति ल्याएको जनाएको छ । यस्तै शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयमा तीन सय शय्याको मेडिकल कलेज र प्राविधिक कार्यक्रम आगामी आर्थिक वर्षदेखि सञ्चालन गर्ने सरकारले योजना बनाएको छ ।

यसैगरी उदयपुर, मोरङ, पर्सा, चितवनलगायत देशका अन्य स्थानमा मेडिकल कलेज स्थापना तथा सञ्चालनका लागि आवश्यक तयारी गरिने राष्ट्रपति पौडेलले बताए । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा आगामी आर्थिक वर्षदेखि एमबीबीएस लगायतका चिकित्सा शास्त्रको स्नातक तहको अध्ययनसमेत सुरु गर्ने र पूर्वाञ्चल विश्वविद्यालय अन्तर्गत पनि अस्पताल सञ्चालनको तयारी गर्ने योजना बनाएको छ ।

वीर अस्पताल राष्ट्रिय ट्रमा सेन्टर, कान्ति बाल अस्पताललगायत धेरै जनशक्ति उपलव्ध भएका अस्पतालमा दुई सिफ्टमा बहिरंग सेवा दिने र कान्ति बाल अस्पतालमा थप पूर्वाधार निर्माण र स्तरोन्नति गरी सुविधा सम्पन्न बनाउने सरकारले नीति लिएको छ । प्रदेश तहमा रहेका संघीय अस्पताल वा स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई ५०० शय्यामा स्तरोन्नति गरिने सरकारको योजना छ ।

यस्तै राष्ट्रपति पौडेलले देशभरका सरकारी तथा गैरसरकारी संगठित क्षेत्रलाई स्वास्थ्य बीमामा आवद्ध गराउने जानकारी दिएका छन् ।