|  

भारतको सहयोगमा श्री कान्ति भैरव माध्यामिक विद्यालयको पुनर्निर्माण शुरु 

६ फागुन, काठमाडौं । काठमाडौंको कागेश्वरी नगरपालिकास्थित श्री कान्ति भैरव माध्यामिक विद्यालयको पुनर्निर्माण शुरु भएको छ । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत र भारतीय राजदूतावासका नियोग उप–प्रमुखद्वारा भूमि पूजन कार्यक्रम सम्पन्न भएको जनाईएको छ । 

भारतीय राजदूतावासका नियोग उप–प्रमुख नामग्य सी. खम्पा तथा नेपाल सरकार राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवाली काठमाडौंको कागेश्वरी नगरपालिकास्थित श्री कान्ति भैरव माध्यमिक विद्यालयको पुनर्निर्माण कार्यका लागि आयोजित भूमि पूजन कार्यक्रममा सहभागी भएका छन् ।

उक्त समारोहमा कागेश्वरी नगरपालिकाका मेयर, राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका सचिव तथा श्री कान्ति भैरव विद्यालय व्यवस्थापन समितिका प्रतिनिधिहरुको पनि उपस्थिति थियो । दूतावासले जारी गरेको विज्ञप्तीमा भनिएको छ,‘शिक्षा, स्वास्थ्य, सांस्कृतिक सम्पदा तथा आवास क्षेत्रमा पुनर्निर्माण परियोजनाका लागि भारत सरकारले कूल २५० मिलियन अमेरिकी डलर आर्थिक सहयोग गर्ने प्रतिबद्घता जनाएको छ । 

शिक्षा क्षेत्रका लागि भारतको ५० मिलियन अमेरिकी डलर प्रतिबद्घता रहेको छ । यस सहयोग अन्तर्गत नेपालका आठ जिल्लामा २०७२ सालको भूकम्पले क्षति पुर्याएका ७१ वटा शैक्षिक संस्थाहरुको पुनर्निर्माण भइरहेको छ । गोरखा र नुवाकोट जिल्लामा ८ वटा विद्यालयहरुको निर्माण कार्य सम्पन्न भइसकेको छ भने ५६ वटा विद्यालयहरु निर्माणाधीन अवस्थामा छन् । त्रिभुवन विश्वविद्यालय केन्द्रिय पुस्तकालयको पुनर्निर्माणका लागि बोलपत्र आव्हान सम्बन्धी कार्य पनि अघि बढाइएको छ ।’