|  

रुकुम पश्चिममा डेढ वर्षकी छोरीलाई पासो लगाउने आमा पक्राउ

२ जेठ, काठमाडौं । रुकुम पश्चिममा आफैले जन्म दिएको सन्तानलाई आफ्नै सलले पासो लगाएर मार्न खोजेको आरोपमा एक महिला पक्राउ परेकी छन् ।

पक्राउ पर्नेमा मुसिकोट नगरपालिका वडा नम्बर १४ लोरिबाङकी अन्दाजी २१ वर्षीया नन्द कली विष्ट रहेकी छन् ।  घटना जेठ १ गते बिहान साढे आठ बजेतिरको हो । नन्दकलीले आफ्नी डेढ वर्षकी छोरी टीका ओलीलाई आफू सुत्ने कोठामा सलले झुन्ड्याएर भिडियो बनाएर वैदेशिक रोजगारीको सिलसिलामा दुबैमा रहेका उनका श्रीमानलाई पठाइन् ।

यस्तो भिडियो देखेपछि श्रीमानले विदेशबाट तुरुन्तै घरका अन्य सदस्य र छरछिमेकलाई खबर गरे । छिमेकीहरू तत्काल विष्टको घरमा पुगे र पासो लगाएकै अवस्थामा भेटाए । तुरुन्तै नाबालिकालाई उद्धार गरे । अहिले जिल्ला अस्पताल सल्लेमा नाबालिकाको उपचार भइरहेको छ । त्यस लगतै प्रहरीले नन्दकलीलाई नियन्त्रणमा लिएको छ ।