|  

छानबिन निष्कर्षः सशस्त्रको केन्द्रीय स्टोरमा आगलागी फैलनुमा ‘सुरक्षा कमजोरी’ 

०२ जेठ, काठमाडौं । सशस्त्र प्रहरी बलको केन्द्रीय स्टोरमा आगलागी भएको घटनामा ‘सुरक्षा कमजोरी’ देखिएको छ ।

सशस्त्र प्रहरी बलका एआईजी वंशीराज दाहाल नेतृत्वको आन्तरिक समिति र राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका सहसचिव भरतमणि पाण्डे नेतृत्वको समितिले यस्तो निष्कर्ष निकालेको हो । छानबिन समितिले दुई जना सशस्त्र प्रहरी उपरीक्षकसहित ७ जनालाई विभागीय कारबाही गर्न सिफारिस गरेको छ । समितिको सिफारिसको आधारमा नम्बर-९ पशुपति बाहिनीमा कार्यरत एसपी अर्जुन खत्री र भण्डार महाशाखाका एसपी राजेन्द्र श्रेष्ठलाई स्पष्टीकरण सोधिएको सशस्त्र प्रहरी बलका एक जना उच्च अधिकृतले बताए । उनले दुई एसपीसहित ७ जनामाथि विभागीय कारबाही थालिएको बताए ।

आगलागी फैलनुमा ‘सुरक्षा कमजोरी’ भएको छानबिन निष्कर्ष छ । आगलागीको गन्ध र धुवाँ आउनासाथ तत्काल रेस्पोन्स गर्न नसकेको छानबिन समितिको ठहर छ । बलम्बुस्थित स्टोरमा आगलागी सुरु भएको थाहा पाउनासाथ समन्वय गरेर ढोका खोल्ने र निभाउन प्रयास गरेको भएमा ठुलो क्षति रोक्न सकिने छानबिन निष्कर्ष छ । छानबिनमा संलग्न अधिकृतहरुका अनुसार ड्युटीमा बस्नेहरू र भण्डार शाखाको पनि कमजोरी देखिएको छ ।

यसअघि एआईजी दाहाल नेतृत्वको समितिले भण्डार महाशाखाका ७ जना सुरक्षाकर्मी र नम्बर–९ बाहिनीका ११ जनालाई छानबिनको दायरामा ल्याएको थियो । १८ जनामध्ये त्रुटि देखिएका ७ जनालाई विभागीय कारबाही गर्न सिफारिस गरिएको छ ।