|  

सगरमाथाको मौसम प्रतिकूलः रोकियो दुई दिन आरोहण

०२ जेठ, काठमाडौं । सर्वोच्च शिखर सगरमाथाको चौथो क्याम्पभन्दा माथि मौसम प्रतिकूल भएपछि दुई दिन आरोहण रोकिएको छ ।

पर्यटन विभागको फिल्ड कार्यालय, सगरमाथा बेसक्याम्पका अनुसार सगरमाथाको चौथो क्याम्पभन्दा माथिको मौसमी प्रतिकूलताका कारण मंगलबार कुनै पनि आरोहण दल शिखर पुग्न सकेनन भने आज पनि कुनै आरोहण हुने छैन । सगरमाथा आरोहणका क्रममा हराइरहेका दुई जना मंगोलियन आरोहीको खोज तथा उद्धारका लागि मंगलबार दुई शेर्पा पठाइएकोमा मौसमी प्रतिकूलताका कारण चौथो क्याम्पमा नै रोकिएको र उद्धारका लागि थप दुई शेर्पा हाल तेस्रो क्याम्प नजिक पुगेको पर्यटन विभाग निर्देशक राकेश गुरुङले जानकारी दिए ।

यसपालि वसन्त ऋतुमा सगरमाथा शिखर पुग्ने लक्ष्यसाथ हाल ४१ दलका ४ सय १४ आरोहीले अनुमति लिएका छन् । तीमध्ये ७५ महिला छन् । यसपालि कुल ३० हिमालका लागि १ सय १२ दलका ९ सय ७१ जनाले आरोहण अनुमति लिएका छन् । यो वर्ष सगरमाथा चुलीसम्म बाटो बनाउने काम २८ वैशाखमा सकिएको थियो । त्यसपछि आरोहण खुलेको थियो । यहीबीच नेपाली पर्वतारोही कामिरिता शेर्पाले २९ औं पटक सगरमाथा शिखर पुगेर नयाँ विश्वकीर्तिमान कायम गरिसकेका छन् ।