|  

आज पनि २५ अंकले बढ्यो नेप्से, एनआईसी एशिया र निफ्राको उच्च कारोबार

६ फागुन, काठमाडौं। आज साताको अन्तिम दिन बिहीबार सेयर बजार २५ अंकले बढेर बन्द भएको छ। कारोबार शुरु भएदेखि नै बढ्न थालेको नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक दोहोरो अंकले बढेर बन्द भएको हो।

नेप्सेमा २५ अंकको वृद्धिसँगै नेप्से परिसूचक दुई हजार छ सय ३६ अंकमा पुगेर रोकिएको छ। नेप्सेका अनुसार आज २०६ कम्पनीका १ करोड ९६ लाख ४६ हजार ५ सय ७८ कित्ता शेयर किनबेच हुँदा ८ अर्ब ७६ करोड २१ लाख ४६ हजार ७ सय ८५ रुपियाँ बराबरको कारोबार भएको छ । 

बजार बढे पनि आज कारोबार भएका १२ मध्ये चार समूहमा गिरावट आएको छ। आज बीमा कम्पनीसहित लघुवित्त र होटल समूह घटेका छन्।आज नेपाल हाइड्रो डेभलपर्स लिमिटेडका शेयरधनीले १० प्रतिशत, कर्णाली डेभपलमेन्ट बैंकका शेयरधनीले ९.९४ प्रतिशत, एभरेष्ट बैंकका लगानीकर्ताले ९.९४ प्रतिशत, बेस्ट फाइनान्सका लगानीकर्ता ९.८८ प्रतिशत, शिभिल बैंकका लगानीकर्ताले ९.८७ प्रतिशत, नेपाल इन्फ्रास्ट्रक्चर बैंक(निफ्रा)का शेयरधनीले ९.८६ प्रतिशत, समृद्धि फाइनान्सका लगानीकर्ताले ९.६९ प्रतिशत र ग्रीन डेभलपमेन्ट बैंकका लगानीकर्ताले ९.२५ प्रतिशतले नाफा कमाएका छन् । 

आज सबैभन्दा बढी मिर्मिरे माइक्रोफाइनान्स डेभलपमेन्ट बैंकका लगानीकर्ताले ४.९१ प्रतिशतले घाटा व्यहोरेका छन् । आज निफ्रालाई पछि पार्दै एनआईसी एशिया बैंकले उच्च कारोबार गरेको छ । एनआईसी एशियाको ५६ करोड १ लाख ८ हजार३ सय ५७ रुपियाँ र निफ्राको ५० करोड ८२ लाख ६९ हजार ८ सय ३५ रुपियाँ बराबरको शेयर कारोबार भएको नेप्सेले जनाएको छ ।