|  

भारतीय प्रधानमन्त्री मोदीले गरे स्वास्थ्यकर्मीका लागि विशेष भिसा र क्षेत्रीय एम्बुलेन्सको प्रस्ताव

६ फागुन, काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले स्वास्थ्यकर्मीका लागि विशेष भिसा र क्षेत्रीय एम्बुलेन्सको प्रस्ताव गरेका छन् । मोदीले दक्षिण एसियाली सहयोग संगठन(सार्क) का ८ सदस्य मुलुक र इन्डियन ओसन मुलुकका डाक्टर, नर्स र स्वास्थ्यकर्मीहरुका लागि विशेष भिसा योजनाको प्रस्ताव गरेका हुन् ।

सार्क लगायत भारतका १० वटा छिमेकी मुलुकबीच ‘कोभिड–१९ व्यवस्थापनः अनुभव, राम्रा अभ्यास र आगामी बाटो’ शीर्षकमा आयोजित भर्जुअल कार्यक्रमलाई सम्बोधन गदै मोदीले सो प्रस्ताव गरेका हुन् । मोदीको सो प्रस्तावको बारेमा यस क्षेत्रका स्वास्थ्य अधिकारीहरुको बीचमा छलफल हुनेछ ।

मोदीले यस क्षेत्रका बिरामीहरुको उद्धार र उपचारका लागि क्षेत्रीय एयर एम्बुलेन्सको प्रस्ताव समेत गरेका छन् । कार्यक्रमलाई सम्बोधन गदै मोदीले नागरिक उड्यन मन्त्रालयलाई सो सम्झौता अगाडि बढाउन समन्वय गर्न समेत आग्रह गरे ।

त्यसैगरी, कोभिड खोपको प्रभावकारीकताको अध्ययन गर्न लागि एक क्षेत्रीय प्लेटफर्मको समेत प्रस्ताव गरेका छन् ।