|  

कांग्रेसको संसद अवरोध लोकतन्त्रको भद्दा मजाकः गृहमन्त्री

०७ जेठ, काठमाडौं । उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले प्रधानमन्त्रीले विश्वासको मत लिने क्रममा कांग्रेसले गरेको अवरोध लोकतन्त्रको भद्दा मजाक भएको टिप्पणी गरेका छन् ।

आज संसद भवनमा सञ्चारकर्मीसँग कुरा गर्दै गृहमन्त्री लामिछानेले विश्वासको मत कहिले लिने भन्ने अधिकार प्रधानमन्त्रीको भएको भन्दै यस्तो बताएका हुन् । उनले संसदमा सम्बोधन गर्ने क्रममा आफूले कसैलाई आरोप वा धम्की नदिएको पनि प्रष्ट पारे । छापामा आएकै भरमा आफूमाथि छानविन गर्ने हो भने अरुमाथि पनि छानविन गर्नुपर्छ भन्ने आफ्नो धारणा रहेको उनको भनाइ छ । संसदमा बोल्ने क्रममा आफूले सहकारीमा आफूजस्तै अरु प्रकरणमा अरुको नाम पनि सञ्चारमाध्यममा आएको दृष्टान्त दिएको प्रष्टिकरण दिए । उनले सहकारी पीडितलाई न्याय दिने गरि सरकारले काम गर्ने आश्वास दिएका छन् ।

गृहमन्त्री रविले सहकारी प्रकरणमा समिति बनाउनका लागि कार्यदल नै बनाइसकेको अवस्थामा अहिले कांग्रेस नै तयार नदेखिएको जिकिर गरे । उनले गिरिबन्दु प्रकरणमा छानविन गर्नुपर्ने र दोषीलाई कारवाही गर्न आफू तयार रहेको बताए ।