|  

रिलिज अगावै दर्शकलाई देखाइयो फिल्म ‘पुजार सार्की’

०९ जेठ, काठमाडौं । भोलि जेठ १० गते बिहीवारदेखि नेपाली फिल्म ‘पुजार सार्की’ प्रर्दशनमा आउँदैछ । तर नेपाली फिल्मकै इतिहासमा पहिलो पटक सार्वजनिक प्रदर्शनमा आउनुअघि नै दर्शकलाई देखाइएको छ ।

काठमाडौंका विभिन्न स्थानहरूमा एक सय बढी दर्शकमा गरिएको सर्भेबाट छनोट भएका दर्शकलाई यो फिल्म देखाइएको निर्देशक दिनेश राउतले जानकारी दिएका छन् । मंगलवार साँझ काठमाडौंको सिडिसि सिनेमा हलमा गरिएको दर्शक विशेष शो मा सय बढी दर्शकको उपस्थिति रहेको थियो। त्यहाँ ‘पुजार सार्की’ का कलाकारहरूले पनि यो फिल्म हेरेका थिए ।

दर्शक छनोट गर्दा नेपाली फिल्मलाई एकदमै प्रेम गर्ने, पुजार सार्की हेर्न व्यग्र प्रतीक्षा गरिरहेका, पहिलो रोजाइमा पुजार सार्की भएका लगायतको दृष्टिकोण राखिएको थियो । यसरी रिलिज अगावै फिल्म देखाइनुको उद्देश्य फिल्मप्रति वास्तविक दर्शकको दृष्टिकोणबारे बुझ्नु, आफ्नो फिल्मबारे दर्शकले बुझेको कुरालाई थाहा पाउनु, फिल्म हेरेका दर्शकको प्रतिक्रियाबाट आएका सुझावहरूलाई मनन गरेर दर्शकको चाहना अनुरूप सुधार गर्नु रहेको निर्देशक राउतले बताए । मंगलवार फिल्म हेरेका दर्शकले यो फिल्मलाई अत्यधिक रुचाएका छन ।