|  

कैलाश सिरोहियालाई समात्न मैले निर्देशन दिएको हुँ : प्रधानमन्त्री प्रचण्ड

९ जेठ, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई पक्राउ गर्न आफूले निर्देशन दिएको बताएका छन् ।

प्रमुख सञ्चारगृहका सम्पादकहरुले लेखेको संयुक्त पत्र बुझ्दै बुधबार अपराह्न प्रचण्डले अदालतको आदेश पालना गर्दै सिरोहियालाई समात्न प्रहरीलाई निर्देशन दिएको बताए ।

‘हिजो बिहानसम्म पनि म कैलाशजीलाई समाउने बेला भएको छैन, त्यसो नगरौं भन्नेमा नै थिएँ’, सम्पादकहरुको पत्र लिएर बालुवाटार पुगेको प्रतिनिधिमण्डल भेट्दै प्रधानमन्त्रीले भने, ‘तर अदालतले नै पक्राउ गर्न आदेश दिइसकेको अवस्थामा मैले त्यसो नगरौं भन्ने अवस्था भएन । त्यसैले कैलाशजीको पक्राउसम्बन्धी मैले जिम्मेवारी लिनुपर्छ, लिन्छु ।’ उनले भने । 

सत्ताको दुरुपयोग गर्दै कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई पक्राउ गरेको विषयमा सम्पादकहरूले बुधबार प्रधानमन्त्रीलाई पाँच बुँदे पत्र बुझाएका हुन् ।