|  

गृहमन्त्री लामिछाने आफ्नो गल्तीलाई ढाकछोप गर्न अनेक हिसाबले लागि परेका छन्ः कोइराला

१० जेठ, काठमाडौं ।  नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले आफ्नो गल्तीलाई ढाकछोप गर्न अनेक हिसाबले प्रस्तुत भइरहेको आरोप लगाएका छन् ।

बिहीबार नेपाल प्रेस युनियनको ३३ औं स्थापना दिवसका अवसरमा प्रेस युनियन कोशी प्रदेशद्वारा विराटनगरमा आयोजित कार्यक्रममा बोल्दै उनले सरकारी ठगी, दुईवटा पासपोर्ट र नागरिकताजस्ता गम्भीर विवादमा जोडिदा पनि गृहमन्त्रीलाई कारबाही नभएकोमा असन्तुष्टि व्यक्त गरे ।

कोइरालाले भने,‘सहकारी ठगीलगायतका विवादमा मुछिएका गृहमन्त्री लामिछानेलाई चैं कानुन लाग्दैन ?देशमा कानुन छ। दुईवटा नागरिकता र पासपोर्ट भएका गृहमन्त्रीलाई त्यो कानुन लाग्दैन ? उहाँलाई केही हुँदैन? किन हुँदैन?’गृहमन्त्री भएकै हिसाबले लामिछानेले सहकारी ठगीबाट उन्मुक्ति पाउन नसक्ने निष्कर्समा कांग्रेसको रहेको उनको भनाइ छ।

कोइरालाले भने, ‘गृहमन्त्री भएको नाताले उहाँलाई सहकारी ठगीबाट उन्मुक्ति दिने ? ठगीबाट उहाँले उन्मुक्ति पाउन सक्नुहुन्न भन्ने नेपाली कांग्रेसको ठहर छ। व्यक्ति होस् वा पार्टी कसैले पनि बचाउन सक्दैन। मकै पोलेर, पानी र चिया बेचेर सहकारीमा राखेको पैसा हिनामिना हुन्छ। गृहमन्त्री मैले केही गरेको छैन भन्नुहुन्छ।’