|  

त्रिचन्द्र कलेज र आन्दोलनरत आंशिक शिक्षकबीच सहमति

१० जेठ, काठमाडौं । त्रिचन्द्र क्याम्पस प्रशासन र आन्दोलनरत आंशिक शिक्षकहरूबीच सहमति भएको छ ।

बुधबार साँझ भएको वार्तामा केही महिनाको पारिश्रमिक पुरानै दरमा दिने र त्रिवि कार्यकारीको निर्णय आएपछि सोही अनुसार लिने / दिने सहमति भएको हो । आंशिक शिक्षकलाई दिइने पारिश्रमिकको विषयमा दुई पक्षबीच विवाद भएको थियो । २०७७ सालदेखि आंशिक शिक्षकहरूले प्रतिपिरियडको ५९० रुपैयाँ पाउँदै आएका थिए ।

गत वर्ष लेखाले बेरुजु देखाएको भन्दै एक पिरियड पढाएको ३९४ रुपैयाँमात्रै दिने भनेपछि आंशिक शिक्षकहरूले विरोध जनाएका थिए । पहिले पाउँदै आएकै दरमा पारिश्रमिक पाउनुपर्ने अडान उनीहरूको थियो । तर क्याम्पसले एक घण्टाको लागि तोकिएको पारिश्रमिक ४० मिनेट पढाउँदा दिन नमिल्ने भनेपछि उनीहरू पढाइ ठप्प पारेर आन्दोलनमा उत्रिएका थिए ।करिब ७० प्रतिशत कक्षाभार लिइरहेका आंशिक शिक्षकहरूले ३ जेठबाट कार्यकक्षमा ताला लगाएर कक्षा लिन छाडेपछि पढाइ ठप्प भएको थियो ।