|  

बेलायती प्रधानमन्त्रीसँग मनिषाको भेटः सगरमाथा आधार शिविर भ्रमण गर्न दिइन् निम्तो

१० जेठ, काठमाडौं । बेलायत भ्रमणमा रहेकी अभिनेत्री मनिषा कोइरालाले बेलायती प्रधानमन्त्री ऋषि सुनकलाई सगरमाथाको आधार शिविर भ्रमणका लागि निम्ता दिएकी छन् ।

नेपाल र बेलायतबीच मैत्रीपूर्ण सम्बन्धको एक सय वर्षगाँठ मनाउन प्रधानमन्त्री कार्यालय टेन डाउनिङ स्ट्रिटमा सुनकले आयोजना गरेको समारोहमा उपस्थित भएकी मनिषाले सगरमाथा आधार शिविर जाने गरी नेपाल आउन निम्ता दिएकी हुन् । उनले सामाजिक सञ्जालमार्फत प्रधानमन्त्री सुनक र आफुबीच क्याजुअल रुपमा गफगाफ गरिरहेको तस्बिर पोस्ट गर्दै सगरमाथा आधार शिविरमा पदयात्राका लागि निम्तो गरेको उल्लेख गरेकी छन् ।

‘हीरामण्डी’ सिरिजको कार्यक्रममा लन्डन पुगेकी उनले आयोजित समारोहमा थुप्रै नेपालीहरूसँग भेटेकी थिइन । समारोहमा नेपाली राजदूत ज्ञानचन्द्र आचार्यदेखि बेलायतस्थित नेपाली समुदायको बाक्लो उपस्थिति थियो । समारोहमा सुनकले नेपाल र बेलायतबीचको ऐतिहासिक सम्बन्धको विभिन्न आयामहरूको बारेमा बोल्दै द्विपक्षीय सम्बन्धमा ब्रिटिश गोर्खाहरुको योगदानको प्रशंसा गरेका थिए । बेलायती राजा चाल्र्सको विगतको नेपाल भ्रमणको स्मरण गर्दै उनले विभिन्न क्षेत्रमा ख्यातिप्राप्त बेलायतमा रहेका नेपाली डायस्पोराको काम र उपलब्धिबाट आफू प्रेरित भएको बताएका थिए ।