|  

लुम्बिनी दिवस: लुम्बिनीको पावन जन्मभूमिमा आउनु नै भाग्य

१० जेठ, काठमाडौं । नेपालका लागि थाइल्याण्डका राजदूत सुवापोङ सिरीसनले पवित्रस्थल लुम्बिनीको पावन जन्मभूमिमा आउनु नै भाग्य भएको जिकिर गरेका छन् ।

२५६८औँ बुद्धजयन्ती एवं लुम्बिनी दिवसका अवसरमा आज आयोजित विशेष समारोहमा उनले यस्तो धारणा ब्यक्त गरेका हुन् । उनले बुद्ध पूर्णिमाको महत्वका बारेमा पनि धारणा ब्यक्त गरेका थिए ।

नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले बुद्धजन्मस्थल लुम्बिनी बौद्ध धर्मालम्बीका लागि मात्र नभएर सारा मानवजातिको लागि भएको बताएका छन् । सोही क्रममा नेपालका लागि श्रीलङ्काका राजदूत एयर चिफ मार्सल सुर्दशना पाथिरानाले बुद्धदर्शन विश्व शान्तिको लागि अत्यन्तै महत्त्वपूर्ण रहेको बताए ।

त्यस्तै बिमिस्टेकका महासचिव इन्द्रमणि पाण्डेले विश्वलाई बुद्ध दर्शनको आवश्यकता रहेको बताए । संयुक्त राष्ट्रसङ्घका स्थायी प्रतिनिधि हाना सिङ्गर ह्याम्डीले बुद्धजन्मस्थल लुम्बिनी बुद्धदर्शन फैलाउने उर्वर भूमिको रूपमा रहेको बताउँदै विश्व शान्तिको कामना गरेका छन् ।