|  

एमालेको दुई दिने राष्ट्रिय महिला भेला आजबाट सुरु

१६ जेठ, काठमाडौं । नेकपा एमालेको राष्ट्रिय महिला भेला काठमाडौं, कमलादीस्थित प्रज्ञा भवनमा जारी छ ।

जनसंगठन समन्वय संयन्त्रले आयोजना गरेको भेलाको उद्घाटन पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले गरेकी छन्। बिहीबारसम्म चल्ने भेलाको उद्घाटन सत्र प्रज्ञा भवनमा र बन्द सत्र कार्की बैंक्वेट बबरमहलमा हुने एमाले स्थायी कमिटी भानुभक्त ढकालले जानकारी दिए। २०६३ साल जेठ १६ गते तत्कालीन पुनर्स्थापित प्रतिनिधि सभाले आमाको नामबाट नागरिकता, राज्यका सबै तहमा एक तिहाइ महिला सहभागिताको सुनिश्चितता, विभेदकारी कानुनको खारेजी र महिला हिंसाको अन्त्य गर्ने विषयलाई संसदको संकल्प प्रस्तावको रूपमा पास गरेको थियो। संसदको यही संकल्पले २०७२ को संविधानमा महिला अधिकारका विषयहरूलाई मौलिक हकमै उल्लेख गर्ने आधार प्रदान गरेको थियो। नेपाल सरकारले जेठ १६ लाई राष्ट्रिय महिला अधिकार दिवस घोषणा गरी मनाउँदै आएको छ  ।

भेलाबारे प्रतिक्रिया दिँदै स्थायी कमिटी सदस्य ढकालले भने, ‘हामीले पनि यो राष्ट्रिय भेला यही ऐतिहासिक दिनको सन्दर्भमा आयोजना गरेका छौं । यो भेलामा महिला आन्दोलनको इतिहासको सम्झना गर्दै अहिलेसम्मका उपलब्धिहरूको विशद चर्चा गरिने छ, चुनौतीहरूका विषयमा छलफल गरिने छ र महिला आन्दोलनका अबका एजेण्डाहरूलाई सूत्रबद्ध गर्दै आगामी कार्यभार तय गरिने छ । महिला सशक्तीकरणका दृष्टिले भेला महत्त्वपूर्ण हुने भन्दै सदस्य ढकालले भेलाले समाजको अग्रगतिका लागि प्रेरणा दिने विश्वास व्यक्त गरेका छन् । साथै उनले यसबाट पार्टीले अगाडि सारेको मिसन-२०८४ सफल बनाउन महिलाको भूमिका प्रभावकारी बनाउन सहयोग पुग्ने बताए।