|  

बस दुर्घटनामा २८ जनाको मृ#त्यु

१६ जेठ, काठमाडौं । पाकिस्तानको दक्षिणपश्चिम बलुचिस्तान प्रान्तको वाशुक जिल्लामा आज बिहान भएको बस दुर्घटनामा परी २८ जनाको ज्यान गएको छ भने २० जनाभन्दा बढी घाइते भएका छन् ।

दुर्घटनामा बसमा सवार महिला तथा बालबालिकासहित २८ जनाको मृत्यु भएको स्थानीय प्रहरीले जनाएको छ । जिल्लाको बिस्मिया क्षेत्रमा ५० जनाभन्दा बढी यात्रु बोकेको बस सडकदेखि केही फिट तल खोल्सामा खसेको थियो । प्रहरी तथा उद्धार टोली घटनास्थलमा पुगी मृतक र घाइतेहरूलाई नजिकैको अस्पतालमा लगेको बताइएको छ । घाइतेमध्ये धेरैको अवस्था गम्भीर भएकाले मृतकको सङ्ख्या अझ बढ्न सक्ने चिकित्सकहरूले आशङ्का गरेका छन् ।