|  

आम जनतामा आशा जगाउने बजेट आएको छः अर्थमन्त्री पुन

१६ जेठ, काठमाडौं । अर्थमन्त्री वर्षमान पुनले आगामी आर्थिक वर्षको बजेट आम जनतामा आशा जगाउने गरी आएको बताएका छन्। आगामी आर्थिक वर्ष २०८१/८२ को बजेटका सन्दर्भमा बुधबार अर्थ मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा अर्थमन्त्री पुनले नागरिकलाई केन्द्रमा राखेर बजेट ल्याएको भन्दै आम जनतामा आशा जगाउने गरी बजेट आएको बताएका हुन्।

उनले देशभित्र अवसर हुँदाहुँदै पनि देश बाहिर जाने प्रवृति बढेको भन्दै सजिलै विदेशको बाटो रोज्ने भन्दा पनि मुलुकभित्रै केही काम गर्ने गरी युवामा आशा जगाउने गरी बजेट आएको बताए। उनले निजी क्षेत्र, प्रमुख प्रतिपक्षलेसमेत आशा जगाउने बजेट आएको भनेर प्रतिक्रिया दिएको उल्लेख गरे। अर्थमन्त्री पुनले बजेटमार्फत नयाँ चरणको आर्थिक सुधारको प्रयास थालेको भन्दै नेपालको भौगोलिक अवस्थिति सुहाउँदो अर्थतन्त्र निर्माणका लागि कोसिस गर्ने र नयाँ चरणको आर्थिक सुधारका लागि सुझाव दिन उच्चस्तरीय कार्यदल गठन गर्ने नीति लिइएको जानकारी दिए।

उनले निजी क्षेत्रसँग मिलेर नै आर्थिक समृद्धि हासिल गर्न सकिने भएकाले त्यही अनुसारको बजेट बनाइएको बताए। प्रदेशगत रूपमा पनि आर्थिक क्षेत्रको पहिचान गरिएको भन्दै कोशी प्रदेशलाई उद्योग हबको रूपमा विकास गर्ने र काठमाडौंलाई आइटी हबको रूपमा विकास गरिने तथा गण्डकीलाई पर्यटन क्षेत्रको रुपमा तयारी गरिएको जानकारी दिए। अर्थमन्त्री पुनले करका दर परिवर्तन गर्दा कुनैपनि व्यक्तिगत आग्रह, पूर्वाग्रह, भावनामा बगेर काम गर्दैनौँ भन्ने प्रतिबद्धताका साथ आवश्यकता र औचित्यका आधारमा हेरफेर भएको बताए।

अर्थमन्त्री पुनले समस्यामा परेका सहकारीका सञ्चालक, एकाघर परिवारका सदस्यको सम्पत्ति धितो राखेर भए पनि तत्काललाई ५ लाखसम्मको रकम फिर्ता गराउने प्रस्ताव बजेटमा गरिएको भन्दै यसले सहकारीको समस्या समाधान गर्दै लैजान मद्दत पुग्ने बताए। केही सहकारी आफ्नो सिद्धान्तविपरीत चलेकाले यो क्षेत्र बदनाम भएको भन्दै सहकारी सानो सानो पूँजी र शक्तिलाई एकीकृत गरेर ठूलो पूँजी, शक्ति बनाउने माध्यम भएको धारणा राखे। समस्यामा रहेका सहकारीहरूको छानबिन गर्ने र दोषीलाई कारबाहीको दायरामा ल्याइने भन्दै आम सहकारीका बचतकर्ता चिन्तित हुनु नपर्ने बताए।