|  

स्वास्थ्य प्रणालीलाई बलियो बनाउन सबैसँग मिलेर काम गर्न प्रतिबद्ध छौँ : स्वास्थ्य मन्त्री यादव

१६ जेठ, काठमाडौं ।  स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप यादवले जेनेभामा भइरहेको ७७ औँ विश्व स्वास्थ्य सम्मेलनमा सम्बोधन गरेका छन् ।

सम्बोधनका क्रममा मन्त्री यादवले नेपालको स्वास्थ्य प्रणालीलाई बलियो बनाउँदै नागरिकको स्वास्थ्यका क्षेत्रमा काम गरिरहेको जानकारी दिएका छन् ।

‘धेरै चुनौतीका बाबजुद पनि नेपालले स्वास्थ्य क्षेत्रमा प्रगति गरेको छ,’सम्बोधनका क्रममा उनले भने, ‘कोभिड महामारीले सिकाएको पाठपछि हामी नेपालको स्वास्थ्य प्रणालीलाई बलियो बनाउन विश्वव्यापी, क्षेत्रीय र राष्ट्रिय एजेन्सीहरू र संस्थाहरूसँग मिलेर काम गर्न प्रतिबद्ध छौँ । ’
विश्व स्वास्थ्य सङ्गठनको केन्द्रीय कार्यालयले आयोजना गरेको स्वास्थ्य सम्मेलनमा मन्त्री यादवले डब्लुएचओले विगत ७६ वर्षदेखि विश्वभरका मानिसहरूको जीवन बचाउन गरिरहेको सेवाका लागि धन्यवाद दिँदै नेपालको स्वास्थ्यका विषयमा बोलेका हुन् ।

‘म विश्व स्वास्थ्य सङ्गठन, डा. टेड्रोस र कर्मचारी सदस्यहरूलाई विगत ७६ वर्षदेखि विश्वभरका मानिसहरूको जीवन बचाउन समर्पित सेवाको लागि धन्यवाद दिन चाहन्छु,’ मन्त्री यादवले भने।

सम्मेलनमा मन्त्री यादवले कोभिड महामारीबाट धेरै पाठ सिकेको भन्दै नेपालमा थप बलियो स्वास्थ्य सेवा सुविधाहरू राख्न र स्वास्थ्य आपतकालिन र भविष्यको महामारीको सामना गर्न राम्रोसँग काम अगाडि बढाइरहेको बताए ।

नेपालले स्वास्थ्यलाई संविधानबाट नै मौलिक हकका रूपमा सुनिश्चित गरेको जानकारी दिँदै नेपाली जनतालाई राम्रो स्वास्थ्य सेवा प्रदान गर्न सरकार प्रतिबद्ध बताए ।