|  

ललितपुरबाट ३० लाख भन्दा बढी नगदसहित जुवाडे पक्राउ,पक्राउ पर्नेमा हाइप्रोफाइल देखि टोले गुण्डासम्म

८ फागुन, काठमाडौं-३० लाख भन्दा बढी नगदसहित ललितपुरबाट जुवाडे पक्राउ परेका छन् ।

ललितपुरस्थित सुनकोठीका अजय महर्जनको घरमा जुवा खेलिरहेको अवस्थामा शनिवार साँझ रकमसहित १७ जनालाई प्रहरीले पक्राउ गरेको हो । उनीहरुको साथबाट प्रहरीले ३० लाख ८४ हजार ४ सय रुपैयाँ बरामद गरेको हो ।

उनीहरूको साथबाट प्रहरीले १९ बुक तास, १६ थान कौडा, तास खेल्दा प्रयोग हुने क्यारेमको गोटी ५ थान र सिमीको दाना १५० थान पनि बरामद गरेको छ।

पक्राउ पर्नेमा रामबहादुर लामा, प्रकाश भण्डारी, लवकुमार बस्नेत, राकेश महर्जन, दिनेश पुडासैनी, हिटलर श्रेष्ठ, अनिल महर्जन, श्रीकृष्ण खड्का, तुलसीराम महर्जन, सानुकान्छा महर्जन, पूर्ण श्रेष्ठ, विनोदप्रसाद घिमिरे, पूर्णमान माली, सानुकान्छा बस्नेत, राम खत्री, विनोद महर्जन र चिरिकाजी महर्जन रहेका छन्।

शुक्रबार साढे ५ बजे प्रहरीले अजय महर्जनलाई घेरा हालेर छापामारेको थियो । चारतले पक्की घरको दोस्रो तलमा जुवा खेलिरहेको अवस्थामा उनीहरुलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । उनी पनि पटके अर्थात जुवाको खालबाट पटक–पटक पक्राउ पर्ने हाइप्रोफाइल व्यक्तिमा पर्छन् । 

पक्राउ पर्नेमध्ये विनोद घिमिरे जुवा खेल्दा सेटिङ गर्ने ‘मास्टर’ हुन् । घिमिरले रिमोर्ट थिच्ने गर्छन् । उनले थिचेको रिमोटबाट कौडामा जे दाउँ राख्यो त्यो दाउ पर्छ । उनी जुवाका विवादित व्यक्ति हुन् । उनी पटक–पटक पक्राउ पर्दै आएका छन् ।

पक्राउ परेका अर्का जुवाडे प्रकाश भण्डारी मिटर ब्याजी हुन् । उनले जुवा खेल्ने जुवाडेहरूलाई मिटर ब्याजमा पैसा दिने गर्छन् । भण्डारी ललितपुरका टोले गुण्डा पनि हुन् ।

जुवाको खालबाट पक्राउ परेका सानु कान्छा बस्नेत भनिने कान्छा बस्नेत युनाइटेड कोलोनीका मालिक हुन् । उनको युनाइटेड सहकारी, कलेज, स्कुल लगायतका व्यापारमा लगानी छ ।  उनीहरू सबै ललितपुरका हुन्।