|  

बजेटबारे गणेश पराजुलीः महँगीको मारमा परेका किसानको मुहारमा खुसी 

२० जेठ, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद गणेश पराजुलीले सरकारको बजेटले भान्साको मूल्य केही हदसम्म भए पनि घटाउने विश्वास व्यक्त गरेका छन् ।

प्रतिनिधिसभाको आजको बैठकमा आर्थिक वर्ष २०८१/०८२ को राजस्व र व्ययको वार्षिक अनुमान (बजेट) माथिको छलफलका क्रममा सांसद पराजुलीले यस्तो बताएका हुन् । उनले बजेटले महँगीको मारमा परेका किसानको मुहारमा खुसी ल्याएको भन्दै आलु र प्याजमा लगाइएको कर छुटले नागरिकमा खुसी जगाएको बताए ।

सांसद पराजुलीले सूचना प्रविधिलाई उद्योगका रूपमा पहिचान गरी उद्योग स्थापना गर्न गरेको प्रोत्साहन र प्रयासले सकारात्मक परिणाम ल्याउने विश्वास व्यक्त गरे । उनले तयारी पोशाकको पैठारी दरभन्दा कच्चापदार्थको पैठारी भन्सार दर एक तह कम गर्ने नीतिगत निर्णयले स्वदेशी उद्योग प्रवर्द्धन गर्ने दाबी गरे । सार्वजनिक संस्थानलाई सम्भाव्यता अध्ययनका आधारमा पब्लिक लिमिटेड वा निजी क्षेत्रसँग साझेदारीमा ल्याइने तथा सरकारी नीतिले रुग्ण र धराशायी उद्योगले पुनर्जीवन पाउने र उत्पादनसँगै रोजगारी सिर्जना हुने सम्भावनाले पनि युवामा आशाको सञ्चार छाएको सांसद पराजुलीको भनाइ छ ।

उद्यमीसँगको सहकार्यमा कक्षा १२ मा उत्तीर्ण भएका विद्यार्थीलाई व्यावसायिक सीप र रोजगारी तथा वैदेशिक रोजगारीबाट फर्केकालाई उद्यमशीलतासँग जोड्ने नीति युवामैत्री भएको सांसद पराजुलीले बताए । उनले वस्तु निर्यात प्रवर्द्धन र व्यापार निर्यात सहरीकरणलाई प्राथमिकता दिने नीतिले आशा जगाएको उल्लेख गर्दै कृषिलाई आधुनिकीकरण गर्ने र यसको उपजलाई निर्यातसँग जोड्न आधुनिकीकरण गर्ने, निर्यातलाई प्रभावकारी कार्यान्वयन गरिनुपर्ने धारणा राखे ।