|  

आफ्नै फार्मेसी खोल्न अस्पतालहरुलाई कामपाको निर्देशन 

२३ जेठ, काठमाडौं । काठमाडौं महानगरपालिकाले महानगरभित्र पर्ने सबै अस्पताललाई १५ दिनभित्र आफ्नै फार्मेसी खोल्न निर्देशन दिएको छ ।

आज सूचना प्रकाशित गर्दै महानगरले हाल काठमाडौं महानगरपालिका क्षेत्रभित्र सञ्चालित अधिकांश अस्पतालहरूको आफ्नो स्वामित्वमा फार्मेसी सञ्चालन नभएको र अन्य व्यक्तिहरूलाई फार्मेसी सञ्चालन गर्न अनुमति दिँदा उपभोक्ताहरू गुणस्तरीय फार्मेसी सेवाबाट बञ्चित भइरहेको तथा चर्को मूल्यमा औषधि तथा औषधिजन्य सामग्रीहरू बिक्री भइरहेको भन्ने गुनासो प्राप्त हुन आएकाले १५ दिनभित्र आफ्नै स्वामित्वमा फार्मेसी सञ्चालन गर्न भनेको हो । सर्वोच्च अदालतले २०७४ असोज २ गते नै अस्पतालहरुलाई आफ्नै फार्मेसी सञ्चालन गर्न आदेश दिएको थियो । 

नेपाल सरकारबाट जारी भएको अस्पताल फार्मेसी सेवा सञ्चालन निर्देशिका २०७२ अनुसार पनि अस्पतालहरूको न्यूनतम सेवा मापदण्डअन्तर्गत अस्पतालले आफ्नो स्वामित्वमा फार्मेसी सेवा सञ्चालन गर्नुपर्ने कानुनी व्यवस्था छ । तर काठमाडौंका अधिकांश अस्पतालले फार्मेसी सेवा सञ्चालन निर्देशिका तथा सर्वोच्चको आदेशको अटेर गर्दै अन्य व्यक्तिहरुलाई फार्मेसी सञ्चालन गर्न दिइरहेका छन् ।