|  

छात्रवृत्ति नदिने निजी स्कुललाई बन्दको सूचीमा राख्ने काठमाडौं महानगरको चेतावनी 

२४ जेठ,काठमाडौं ।  १० प्रतिशत छात्रवृत्ति उपलब्ध नगराउने संस्थागत (निजी) विद्यालयहरूलाई काठमाडौं महानगरले बन्दको सूचीमा राख्ने चेतावनी दिएको छ ।

बिहीबार एक सूचना प्रकाशित गरेर काठमाडौं महानगरपालिकाले त्यस्तो चेतावनी दिएको हो । काठमाडौं महानगरपालिकाले अहिले ४७३ निजी विद्यालयले छात्रवृत्ति दिएको विवरण पेश गरेको तथ्यांक पनि प्रस्तुत गरेको छ। महानगपालिकाको निर्देशन अटेर गर्ने निजी विद्यालयलाई तीन दिनभित्र विवरण पेश गर्न समयसीमा पनि तोकेको छ ।

त्यतिञ्जेलसम्म पनि विवरण नबुझाउने विद्यालय बन्दको सूचीमा रहने, ती विद्यालयमा आफ्ना बालबालिका भर्ना नगर्न र गरिरहेको भए अन्यत्र स्थानान्तरण गर्न पनि महानगरले आग्रह गरेको छ।‘अनिवार्य तथा निःशुल्क शिक्षा सम्बन्धी ऐन, २०७५, शिक्षा नियमावली, २०५० काठमाडौं महानगरपालिका शिक्षा ऐन, २०७५ तथा काठमाडौं महानगरपालिका शिक्षा व्यवस्थापन नियमावली, २०७४ अनुसार काठमाडौँ महानगरपालिका भित्र सञ्चालित सबै संस्थागत विद्यालयले कम्तीमा १० प्रतिशत छात्रवृत्ति रीतपूर्वक वितरण गर्नुपर्ने व्यवस्था छ।

यो व्यवस्था कार्यान्वयन गराउन पटक पटक अनुरोध गर्दा जेठ २३ गते सम्ममा ४७३ संस्थागत विद्यालयहरूले विवरण उपलब्ध गराएका छन्। यसर्थ, छात्रवृत्ति विवरण पेस हुन बाँकी रहेका विद्यालयहरूले काठमाडौं महानगरपालिका शिक्षा विभागमा तीन दिनभित्र माग भएको छात्रवृत्ति विवरण उपलब्ध गराउनुहुन यसै सूचनाबाट पुनः अनुरोध गरिएको छ। ’ महानगरको सूचनामा भनिएको छ।विवरण बुझाएका कुल ४७३ निजी विद्यालयमा एक लाख ४९ हजार ९५० विद्यार्थी अध्ययनरत रहेको महानगरले जनाएको छ। त्यसमध्ये १८ हजार ४२२ जना विद्यार्थीले छात्रवृत्ति पाएका छन्।