|  

वीर अस्पतालमा ब्रेन ट्युमरको निःशुल्क शल्यक्रिया सुरु

२७ जेठ, काठमाडौं । वीर अस्पतालले ब्रेन ट्युमर दिवसका अवसर पारेर आजदेखि ब्रेन ट्युमरका बिरामीको निःशुल्क शल्यक्रिया सुरु गरेको छ । 

आजदेखि असार १६ गतेसम्म अस्पतालमा आउने ब्रेन ट्युमरका बिरामीको नि:शुल्क शल्यक्रिया गरिने राष्ट्रिय ब्रेन ट्युमर केन्द्रका अध्यक्ष प्रा डा राजीव झाले जानकारी दिए । उनका अनुसार  बाहिरी अस्पतालमा शल्यक्रिया गर्दा कम्तीमा एक देखि तीन लाखसम्म पर्छ ।

शरीरका कोषिकाहरु असामान्य ढङ्गबाट बढ्दै गएको अवस्थामा ब्रेन ट्युमरको समस्या हुने उनले जानकारी दिए । 'मानिसको उमेर बढ्दै जाँदा शरीरका अङ्गहरु कमजोर हुने क्रमसँगै ब्रेन ट्युमरको सम्भावना बढ्दै जान्छ । हेपाटाइटिस, एड्सजस्ता रोग लागेर कमजोर भएका व्यक्तिको लिम्फोमा ट्युमर हुने उच्च सम्भावना रहन्छ,' उनले भने ।

ब्रेन ट्युमर हुनुको अर्को कारण खराब विकीरण पनि हो । एक्स-रे, सिटीस्क्यान गराउँदा निस्कने विकीरण हानिकारक मानिन्छ । ब्रेन ट्युमरको उपचारमा धेरै प्रयोग हुने प्रविधि भनेको ‘एसआरएस’ अर्थात् ट्याक्सी रेडियो सर्जरीलाई लिने गरिन्छ । यसले कतिपय ब्रेन ट्युमरलाई शल्यक्रिया नगरी सुकाइदिन्छ तर उच्च डोजको विकीरण हुने भएकाले शरीरका अन्य भागमा प्रत्यक्ष असर गर्दछ र पछि क्यान्सरको जोखिम बढाउने चिकित्सकहरु बताउँछन् । अस्पतालमा दैनिक ६ देखि आठजना ब्रेन ट्युमरका बिरामी उपचारका लागि आउने गरेका छन् । झाका अनुसार मुलुकभरि प्रत्येक दिन ब्रेन ट्युमरका सयजना बिरामी अस्पताल आउने गरेका छन् ।