|  

भारतको इतिहासमै सबैभन्दा लामो ‘लू’: घाममा ननिस्कन सुझाव

२८ जेठ, काठमाडौं । भारतमा मौसमविद्हरूले अति आवश्यक कामबाहेक दिनको घाममा घरबाहिर ननिस्कन सुझाव दिएका छन् ।

भारतीय मौसमविद्ले आज नागरिकले अझै केही दिन बढ्दो तापक्रमको सामना गर्नुपर्ने भन्दै यस्तो सुझाव दिएका हुन् । उनीहरुका अनुसार भारतको इतिहासमा नै सबैभन्दा लामो उष्ण लहर ‘लू’ का कारण सामान्य जनजीवन प्रभावित बनेको छ । उत्तरी भारतका केही भागमा मानिसहरू मे महिनाको मध्यदेखि नै गर्मीको चपेटामा परेको र पछिल्ला केही दिनमा तापक्रम ४५ डिग्री सेल्सियसभन्दा माथि पुगेको छ । लगातार २४ दिनसम्म अनुभव गरिएकाले यो सबैभन्दा लामो ‘लू’ लागेको भारतको मौसम विज्ञान विभागले जनाएको छ ।
यस महिना वार्षिक मनसुन वर्षा उत्तरतिर सर्दै जाँदा विस्तारै गर्मी घट्ने भने अपेक्षा गरिएको छ ।