|  

एसइईको परीक्षाफल असार दोस्रो साता सार्वजनिक हुने

२८ जेठ, काठमाडौं । राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालयले यसवर्षको माध्यामिक शिक्षा परीक्षा (एसइई)को नतिजा असार दोस्रो साताभित्र सार्वजनिक गर्ने गरी काम भइरहेको जनाएको छ ।

परीक्षा नियन्त्रक नन्दलाल पौडेलले कार्यालयले तयार पारेको कार्ययोजनाअनुसार उत्तरपुस्तिका परीक्षण र अंकभार प्रविष्ट गराउने काम सकिएको जानकारी दिए । उनले कार्ययोजनाअनुसार काम भइरहेकाले असार दोस्रो साताभित्र नतिजा सार्वजनिक गर्ने गरी अन्य काम तीव्र गतिमा भइरहेका बताए । 

'हामीले उत्तरपुस्तीका परीक्षण र अंक अभिलेखको काम सकेका छौँ । प्राविधिक त्रुटि नदेखिए केही दिनअगाडि नै नतिजा प्रकाशित गर्न र कुनै समस्या भए दोस्रो साताभन्दा पर नजाने गरी काम भइरहेको छ । कर्मचारीका विभिन्न समूह बनाएर काम भइरहेकाले निर्धारित समयमै नतिजा सार्वजनिक गर्छौं,' उनले भने । उनले ५२ वटा परीक्षण केन्द्रमा उत्तरपुस्तिका परीक्षण गरिएको जानकारीसमेत दिए ।