|  

सरकारले किनेको १० लाख डोज खोप आइपुग्यो काठमाडौं

९ फागुन, काठमाडौं । सरकारले खरिद गरेको १० लाख डोज कोभिसिल्ड खोप त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आइपुगको छ । एयर इन्डियाको विमानबाटमार्फत १ः५९ मा विमानस्थलमा अवतरण भएको हो। 

सरकारले प्रति डोज ४ डलरमा २० लाख डोज खोप खरिद गरेको हो । जसमध्ये पहिलो चरणमा १० लाख डोज आज आएको हो। नेपाल सरकारले सेरम इन्स्टिच्युट अफ इन्डियामा फागुन ५ गते २० लाख डोज खरिदका लागि सम्झौता गरेको थियो।

उक्त खोप टेकुस्थित कोल्डरुममा भण्डारण गरी प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रमार्फत जिल्लास्थित स्वास्थ्य कार्यालयबाट देशभरका खोप केन्द्रमा वितरण हुनेछ। स्वास्थ्य मन्त्रालयले बाँकी १० लाख खोप पनि चाँडै नेपाल आइपुग्ने जनाएको छ।

सरकारले उक्त खोप खरिदका लागि अग्रिम भुक्तानी गरेको थियो।  सरकारले फागुन २३ गतेदेखि सञ्चालन गर्ने दोस्रो चरणको खोप अभियानका लागि उक्त खोप खरिद गरेको हो।

दोस्रो चरणको खोप अभियानमा ५५ वर्षभन्दा माथि उमेर समूहलाई खोप लगाउन लागिएको छ। दोस्रो चरणमा नै महाविद्यालय तथा विद्यालयका प्राध्यापक, शिक्षण तथा कर्मचारी, सार्वजनिक यातायातका चालक तथा सहचालकहरुलाई समेत खोप लगाउन आवश्यक तयारी तथा व्यवस्थापन गर्ने निर्णय सरकारको छ।

नेपालमा माघ १४ गतेदेखि कोरोना विरुद्धको खोप अभियान शुरु भएको थियो। पहिलो चरणमा स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, सफाइकर्मी, एम्बुलेन्स, शववाहन चालक, पत्रकार, स्थानीय जनप्रतिनिधि, सरकारी कार्यालयका कर्मचारी, नेपालस्थित कूटनीतिक नियोगका कर्मचारी, युएन एजेन्सीका कर्मचारीलाई खोप दिइएको छ। हालसम्म ३ लाख बढीले खोप लगाइसकेका छन् । त्यस्तै, सरकारले कुल जनसंख्याको ७० प्रतिशतलाई कोरोना विरुद्धको खोप लगाउने लक्ष्य लिएको छ।