|  

भारत भ्रमणबारे प्रधानमन्त्रीले संसदमा जानकारी गराउनुपर्छ :  रघुजी पन्त

२९ जेठ, काठमाडौं । नेकपा एमालेका सांसद रघुजी पन्तले प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड' ले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग गरेका कुराकानीबारे संसदलाई जानकारी गराउनुपर्ने बताएका छन्।

आज प्रतिनिधि सभा बैठकको सुरुमा बोल्दै एमाले सांसद रघुजी पन्तले दुई मुलुकबिचको थाँती रहेको समस्या समाधानका लागि प्रधानमन्त्री पुष्पकमल प्रचण्डले भारतीय समकक्षी नरेन्द्र मोदीसँग गरेको कुराकानी संसद्लाई जानकारी गराउनका लागि रुलिङ गर्न सभामुख घिमिरेसँग आग्रह गरेका हुन् ।

भारतीय प्रधानमन्त्री मोदीको शपथग्रहण समारोहमा सहभागी भएका प्रधानमन्त्री दाहालले मोदीसँग पनि भेटवार्ता गरेका थिए। प्रधानमन्त्री दाहाल सोमबार स्वदेश फर्किएका थिए।

‘भारतसँग थाती रहेका हाम्रा समस्या जस्ताका त्यस्तै विद्यमान छ, त्यसैले सभामुखबाट आज रूलिङ हुनुपर्छ, प्रधानमन्त्रीले बोलेर आएपछि बोल्ने पहिलो ठाउँ संसद हो, भारतीय प्रधानमन्त्रीसँग उहाँको के-के विषयमा कुराकानी भयो त्यो बाहिर अखबारमा भन्नुभयो ठिकै छ, संसदलाई सम्मान गर्ने हो भने आजै उहाँले संसदमा आएर भारत भ्रमणबारे, त्यहाँ भएको कुराकानीबारे विस्तृत रूपमा जानकारी दिनुपर्थ्यो,’ सांसद पन्तले भने।

नेपाल र भारतका बीचमा विद्यमान रहेका समस्याहरू समाधान गर्न के-के विषयमा ठोस कुराकानी भएको हो भन्नेबारे प्रधानमन्त्री दाहालले संसदलाई जानकारी गराउनुपर्ने उनको भनाइ छ।