|  

पहुँच हुने र घुस खुवाउनेको मात्रै काम हुने अवस्थाकाे अन्त्य गरौं : सांसद पौडेल

२९ जेठ, काठमाडौं । नेपाली कांग्रेसका सांसद प्रदीप पौडेलले सरकारी निकायमा पहुँच हुने र घुस खुवाउनेको मात्रै काम हुने अवस्था अन्त्य गर्न माग गरेका छन् ।

मंगलबार प्रतिनिधि सभाको बैठकमा बोल्दै पौडेलले पहुँचवालाको र घुस खुवाउनेको मात्रै काम हुने अवस्थाकाे अन्त्य गर्न माग गरेका हुन् ।

‘सरकारी कार्यालयमा सेवाग्राही जाँदा राम्रो व्यवहार नहुने अवस्था छ । पहुँच पुगेका मानिसको काम हुने, रिसवत बुझाउनेको काम हुने तर अरूको नहुने अवस्था छ,’ पौडेलले भने, ‘विशेष गरेर महिला, निमुखा र विपन्न मान्नेलाई असाध्यै हेप्ने अवस्था । सरकारी कार्यालयले गरेको व्यवहारका कारणले धेरै युवाहरू निराश भएको स्थिति छ ।’

यसैले सेवाग्राहीको काम नभएको विषयमा लिखित जवाफ दिने व्यवस्थाको माग पौडेलले गरेका छन् ।

‘सेवाग्राहीले लगेको काम कर्मचारीले किन नगरेको ? काम नभएको कारण खुलाएर सेवा केन्द्रले लिखित रुपमा जवाफ दिने अनिवार्य व्यवस्था गरौं । सबै सरकारी कार्यालयले सेवाग्राहीको काम कुन कानून नमिलेको कारणले, लिखित रुपमा अनिवार्य जवाफ दिने व्यवस्था गरियो भने भ्रष्टाचार पन न्यूनीकरण हुन्छ,’ पौडेलले भने, ‘सरकारी कार्यालयले सुलभ रुपमा सेवाग्राहीलाई सेवा उपलब्ध गराउन पनि सक्छ । सरकारको प्रभावकारिता पनि देखिन्छ । त्यसैले लिखित जवाफको अनिवार्य व्यवस्था गरौं ।’