|  

सन्दीप जोडिएपछि कप्तान रोहितकाे प्रतिक्रिया- नेपाललाई भन्दा श्रीलंकालाई प्रेसर छ

२९ जेठ, काठमाडौं । टी-२० विश्वकपमा आमने सामने हुँदा नेपाललाई भन्दा श्रीलंकालाई प्रेसर हुने कप्तान रोहित पौडेलले बताएका छन् ।

आईसीसी टी-२० विश्वकपअन्तर्गत आफ्नो दोस्रो खेलको पूर्वसन्ध्यामा आयोजित पत्रकार सम्मेलनमा उनले यस्तो बताएका हुन् । उनले नेपाली टिममा स्पिनर सन्दीप लामिछाने जोडिनुले धेरै फाइदा हुने भन्दै लामिछाने टिममा भित्रिएकाले उनको अनुभव र उत्कृष्टतामा नेपाललाई झनै खेल जित्ने अवसर हुने बताए । उनले श्रीलंकालाई हराउने अवसर नेपालसामु रहेकाले सोहीअनुसार खेल्ने रणनीति बनाएको बताए । उनले १ सय ४० सम्मको स्कोर बनाउने टिमले जित हात पार्ने बताए ।

सो क्रममा उनले भनेका छन्,‘श्रीलंका टिम राम्रो छ । हामीलाई भन्दा बढी प्रेसर श्रीलंकालाई छ जस्तो लाग्छ मलाई । धेरैजसो डट बल भइरहेको छ । १४० बनाउनसक्यो भने जित्ने सम्भावना हुन्छ । सुरुआती ब्याट्सम्यानले राम्रो गर्नसके सबैमा आत्मविश्वास आउँछ । हामी बलियो टिम र भोलिको गेमलाई लिएर उत्साहित छौँ । यो टुर्नामेन्ट अप डाउन भइरहेको छ । प्रेसरलाई सहेर खेल्ने टिमले नै जित्छ ।’ 

श्रीलंका पहिलो दुई खेलमा क्रमशः दक्षिण अफ्रिका र बंगलादेशसँग पराजित भएपछि प्रतियोगिताबाट बाहिरिने स्थितिमा छ । नेपाल पनि पहिलो खेलमा नेदरल्यान्ड्ससँग पराजित भएको थियो । एक साताको विश्रामपछि नेपालले आफ्नो दोस्रो खेलमा श्रीलंकाको सामना गर्न लागेको हो । सुपर ‘एट’ मा प्रवेशको समीकरणको हिसाबमा दुवै टोलीलाई हारको छुट छैन । श्रीलंकालाई नेपाल र नेदरल्यान्ड्सविरुद्धको बाँकी दुई खेलको विजय पनि दोस्रो चरणमा पुग्न पर्याप्त नहुन सक्छ ।