|  

परराष्ट्रमन्त्री श्रेष्ठले दिए भारतीय समकक्षी जयशंकरलाई बधाई !

२९ जेठ, काठमाडौं । उपप्रधान तथा परराष्ट्र मन्त्री नारायणकाजी श्रेष्ठले भारतीय समकक्षी एस. जयशंकरलाई बधाई दिएका छन् ।

भारत सरकारको विदेशमन्त्रीमा दोस्रो कार्यकालका लागि एस. जयशंकरले पुनः पदभार ग्रहण गरेपनि सामाजिक सञ्जाल एक्समार्फत परराष्ट्र मन्त्री श्रेष्ठ बधाई दिएका हुन् । उनले नेपाल-भारत बिचको न्यानो र घनिष्ठ सम्बन्धलाई अझ बलियो बनाउनका लागि सहकार्य गर्न तत्पर रहेको पनि उल्लेख गरेका छन् ।

जवाफमा जयशंकरले पनि परराष्ट्र मन्त्री श्रेष्ठलाई धन्यवाद दिँदै नेपाल-भारतको प्रगतिका लागि मिलेर काम गर्न तयार रहेको बताएका छन् । जयशंकर सन् २०१९ मा पहिलो पटक विदेशमन्त्री चयन भएका थिए । विदेश सचिवबाट अवकाश लिएपछि उनी मन्त्रीमा नियुक्त भएका हुन् । भारतमा उनलाई सफल कूटनीतिज्ञ मानिन्छ । त्यही भएर प्रधानमन्त्री नरेन्द्र मोदीले उनलाई दोस्रो कार्यकालमा पनि मन्त्रीको रूपमा समेटेका हुन् । नरेन्द्र मोदी गुजरातको मुख्यमन्त्री भएको बेला चीन भ्रमणमा जाँदा जयशंकर त्यहाँ भारतीय राजदूत थिए । जयशंकरसँग मोदीको पहिलो भेट त्यहीँ भएको थियो ।