|  

विश्व नै जलवायु परिवर्तन लगायतका समस्याको चपेटामाः उपराष्ट्रपति यादव

२९ जेठ, काठमाडौं । उपराष्ट्रपति रामसहाय प्रसाद यादवले पछिल्लो समय विश्व नै जलवायु परिवर्तन लगायतका समस्याको चपेटामा परेको बताएका छन् ।

नेपाल खुला विश्वविद्यालय तथा मध्यपश्चिम विश्वविद्यालयको संयुक्त आयोजनामा आज ललितपुरमा ३० औँ अन्तर्राष्ट्रिय दिगो विकास अनुसन्धान सम्मेलनको समुद्घाटन गर्दै उनले यस्तो बताएका हुन् । उनले यो समस्या समाधानका लागि एउटा देशको प्रयासले मात्र नपुग्ने भएकाले कुनै पनि राष्ट्रले विश्वव्यापी चुनौतीलाई एक्लै सम्बोधन गर्न नसक्ने बताए । विश्वले सामना गर्दै आएका चुनौती-जलवायु परिवर्तन, वातावरणीय ह्रास, सामाजिक असमानता र आर्थिक अस्थिरता-विशाल र जटिल बन्दै गएकोमा चिन्ता व्यक्त गर्दै उनले यी चुनौतीको विश्वव्यापी समाधान आवश्यक रहेको बताए ।

उपराष्ट्रपति यादवले यो सम्मेलन विश्वव्यापी सहयोगको भावना अभिवृद्धि गर्दै सुनौलो र दिगो भविष्य निर्माणका लागि साझा प्रतिबद्धताका साथ अघि बढ्न उत्प्रेरित गर्नसक्ने विश्वास व्यक्त गरे । उनले भनेका छन्,‘नेपालको समृद्ध संस्कृति र प्राकृतिक वैभव स्थलमा भइरहेको यो जमघटले मानव सभ्यता र प्रकृतिबिचको सन्तुलन कायम गर्ने साझा सूत्र पत्ता लगाउन सक्नुपर्दछ । दिगो विकासप्रति हाम्रो प्रतिबद्धता छँदै छ, सिङ्गो पृथ्वीको संरक्षण गर्दै भावी पुस्ताको भविष्य सुरक्षित राख्न पनि हामी कटिबद्ध छौँ।’

साे क्रममा विभिन्न अनुसन्धान पृष्ठभूमि सहितका विज्ञ यो सम्मेलनमा आ-आफ्ना ज्ञान, रणनीति र अनुसन्धान साझा गर्न भेला भएको जानकारी पाएर आफूलाई खुसी लागेको  बताए । नेपाल दिगो विकास क्षेत्रको समस्याको समाधान र सहयोगको पक्षमा रहेको समेत बताए ।