|  

श्रमाधान रोजगार मेला अति नै आवश्यकः सुमना श्रेष्ठ

२९ जेठ, काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले श्रमाधान रोजगार मेला अति नै आवश्यक भएको बताएकी छन् । 

बागमती प्रदेशको ललितपुरस्थित पाटन बहुमुखी क्याम्पसमा श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले आजबाट आयोजना गरेको ‘श्रमाधान रोजगार मेला’ को शुभारम्भ गर्दै उनले यस्तो बताएकी हुन् । उनले यस मेलाले करिअर काउन्सिलको काम गर्ने पनि बताइन । उनले यो सुरुवात मात्रै भएको भन्दै मेलाले उद्यमी बन्न चाहनेको लागि सहज प्रक्रियाको जानकारी दिने बताइन् । कुनै रोजगारीको लागि कस्तो खालको शिक्षा तथा सीपको आवश्यकता पर्दछ भन्ने विषयमा पनि छलफल हुने बताइन् । मन्त्री श्रेष्ठले उद्योग, शिक्षा र श्रम मन्त्रालयको सहकार्यमा भोकेशनल तालिमहरू सञ्चालन गर्न सकिने बताइन् ।

यसैवीच, बागमती प्रदेशका श्रम, रोजगार तथा यातायात मन्त्री लक्ष्मण लम्सालले रोजगार मेलाले सीप र कामको महत्व पनि बुझाउने बताए । मेलाको उपलब्धि आजको भोलि नै नदेखिने भन्दै यसले दीर्घकालीन रुपमा सकारात्मक परिणाम देखाउने बताइन् । आगामी दिनमा यो मेलालाई अभियानको रुपमा नै लैजानुपर्ने उनको भनाइ छ । मेलाले मुलुकभित्र केही हुन सक्दैन भनेर बिदेसिनेको मनोविज्ञानलाई परिवर्तन गर्न महत्वपूर्ण भुमिका खेल्ने विश्वास व्यक्त गरिन् । साथै मेलाले रोजगारदाताले श्रमिक पाएनौ भन्ने र श्रमिकले रोजगारी पाएनौ भन्ने गुनासोलाई सम्बोधन गर्ने बताइन् ।