|  

सुरक्षित कारोबार विधेयक संशोधनपछि थप व्यावहारिक हुनेमा अर्थमन्त्री विश्वस्त 

२९ जेठ, काठमाडौं । राष्ट्रियसभाबाट ‘सुरक्षित कारोबार (पहिलो संशोधन) विधेयक, २०८०’ सर्वसम्मतले पारित भएको छ ।

आजको बैठकमा अर्थमन्त्री वर्षमान पुनले उक्त विधेयक प्रस्तुत गरेका थिए । प्रस्तुत विधेयकमाथि छलफलका क्रममा उठेका प्रश्नको जवाफ दिँदै उनले यस विषयमा समितिमा पर्याप्त छलफल भएको बताए। उनले विधेयकमा जनताको दैनिक कारोबार खासगरी धितोसम्बन्धी व्यवस्था रहेको जानकारी दिँदै उत्पादनमूलक व्यवसाय माछापोखरी, फलफूल बगान, पशु फार्म आदिमा धितोको व्यवस्था हुने जानकारी दिए । उनले यो संशोधनपछि थप व्यावहारिक र समयसापेक्ष हुने विश्वस्त पारे ।

विधेयकमाथिको छलफलमा सांसदद्वय देवेन्द्र दाहाल र कमला पन्तले भाग लिइ आफ्ना धारणा व्यक्त गरेका थिए ।  यसैगरी, बैठकमा सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले राष्ट्रिय मानवअधिकार आयोगको २३औँ वार्षिक प्रतिवेदन र राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको पाँचौं वार्षिक प्रतिवेदन पेस गरेकी थिइन् । राष्ट्रियसभाको अर्को बैठक भने आगामी असार ४ मङ्गलबार दिउँसो पौने १ बजे बस्ने छ ।