|  

नौ गायक-गायिकाले गरे अपाच्य गीत नगाउने प्रतिबद्धता

३० जेठ, काठमाडौं । अबदेखि उश्रृंङखल दोहोरी नगाउने भन्दै ९ जना गायक गायिकाले प्रतिवद्धता ब्यक्त गरेका छन् ।

राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान नेपालले उश्रृंङखल दोहोरी गाएको भन्दै १२ जनासँग स्पष्टीकरण मागेकोमा ९ जनाले भने गल्ती स्वीकारेका छन् । अपाच्य शब्द र प्रस्तुतिमार्फत दोहोरीमा विकृति भित्र्याएको भन्दै प्रतिष्ठानले केही दिनअघि स्पष्टीकरण मागेको थियो। जसमध्ये शर्मिला रायमाझी, शंकर सुनार, नवराज काप्री (धादिङे भाले), सुशीला लामा, तारा थापा,  सागर बीसी, सीताराम परियार, सलिना नेपाली र विशाल सोनीले लिखित स्पष्टीकरण बुझाइसकेको प्रतिष्ठान अध्यक्ष रिता थापा मगरले जानकारी दिइन ।

नवीना सिलवाल (खुइली), रिया खड्का र गोपाल जिसीले स्पष्टीकरण दिएका छैनन्। उनीहरूलाई अझै केही दिन कुर्ने र त्यतिञ्जेल सम्पर्कमा नआए फेरि पत्र काट्ने प्रतिष्ठानले जनाएको छ।पछिल्लो समय दोहोरी गीतमा देखिएको विकृति न्यूनिकरण गर्न प्रतिष्ठानले सक्रियता देखाएको छ। प्रतिष्ठानले दोहोरीमा विकृति भित्र्याएको भन्दै निर्वाचित केन्द्रीय सदस्य गायक बालचन्द्र बराललाई ६ महिनाका लागि संस्थाबाट निलम्बन गरेको छ ।