|  

गर्मीका कारण विद्यार्थी बिरामी पर्न थालेपछि ७ दिन विद्यालय बन्द

३२ जेठ,काठमाडौं ।  गर्मीका कारण विद्यार्थी बिरामी पर्न थालेपछि सल्यानमा दुई पालिकाले विद्यालय बन्द गरेका छन् ।

त्रिवेणी गाउँपालिका र शारदा नगरपालिकाले सूचना प्रकाशन गरेर शुक्रबारदेखि विद्यालय बन्द गरेका हुन् । त्रिवेणी गाउँपालिकाले बर्खे बिदाबाट कटौती हुने गरी एक साताका लागि र शारदा नगरपालिकाले तीन दिनका लागि पालिकाभरका विद्यालय बन्द गरेका हुन् ।

त्रिवेणी गाउँपालिकामा ३४ विद्यालयमा ५ हजार र शारदा नगरपालिकाका ६८ विद्यालयमा ११ हजार विद्यार्थी अध्ययनरत रहेका छन् । गर्मीले विद्यार्थी बेहोस हुने, झाडापखाला, टाउको दुख्नेलगायतका समस्या देखिएपछि विद्यालय बन्द गरिएको  पालिकाले जनाएको छ ।

विद्याथी बिरामी हुन थालेपछि डाक्टरसहितको टिमले पालिकाका केही विद्यालयमा अनुगमन गरेको थियो । गर्मीकै कारण विद्यार्थीमा विभिन्न किसिमको समस्या देखिएकोस्वास्थ्यकर्मीको टोलीले जानकारी गराएपछि विद्यालय बन्द गरिएको हो ।