|  

टेलर स्वीफ्टको कन्सर्टले ६ किलोमिटर टाढासम्म भूकम्प !

३२ जेठ,काठमाडौं ।  टेलर स्वीफ्टका हजारौं फ्यानले गत साता स्कटल्याण्डको राजधानी एडिनबर्गमा आयोजित तीन कन्सर्टमा हर्षोल्लास मनाउँदै नाच्दा भुइँचालो मापन गरिएको छ ।

भूकम्पसम्बन्धी अनुगमन गर्ने स्टेसनले कन्सर्ट थलोभन्दा ६ किलोमिटर परसम्म भूकम्पीय गतिविधि मापन गरेको स्रोतले जनाएको छ । विशेषगरी स्वीफ्टले तीन गीतमा प्रस्तुति दिंदा हर्षोल्लासमा मस्त फ्यान निकै उफ्रिएर नाचे । ती तीन गीतमा ‘क्रुएल समर’, ‘रेडी फर इट’ र ‘स्याम्पेन प्रोबल्म्स’ छन् ।

स्वीफ्टको उक्त कन्सर्टमा ७३ हजारको भीड थियो । ती तीन गीतमा सबैभन्दा बढी भूकम्प गतिविधिको मापन गरिएको उल्लेख छ । गत शुक्रबार रातिको सो कन्सर्ट केही मात्राले शक्तिशाली महसुस गरियो । फ्यानको भीडले उक्त कन्सर्टको मैदानलाई २३.४ न्युटन मिटरले हलचल गराएको विवरणमा उल्लेख छ ।शुक्रबार २२.८ न्युटन मिटर र आइतबार २३.३ न्युटन मिटरको हलचल मापन गरिएको बताइएको छ ।

मुख्यतः नाचको कारणले उक्त भूकम्पीय गतिविधि भएको र ‘रेडी फर इट’ गीतको प्रस्तुति दिंदा मात्रा बढेर १६० बीपीएम पुगेको समेत बताइएको छ । फ्यानले उक्त गीतको प्रस्तुति दिंदा ८० किलोवाट शक्ति ऊर्जा सिर्जना भएको र त्यो ऊर्जा ६ हजार कारको ब्याट्री बराबर भएको जनाइएको छ ।

सियाटल र लस एन्जलसमा भएका स्वीफ्टका अघिल्ला कन्सर्टमा समेत यस्ता घटनाको महसुस गरिएको थियो । उनको सियाटल गिगमा २.३ म्याग्निच्युडको भूकम्प बराबरको गतिविधि मापन गरिएको थियो । ब्रिटिश जियोलोजिकल सर्भे बेलायतको राष्ट्रिय भूकम्प अनुगमन एजेन्सी हो र यसको डिटेक्टरले माइल टाढाको सबैभन्दा सानो भूकम्पीय गतिविधि समेत पत्ता लगाउन सक्ने मानिन्छ ।