|  

टिकटकमाथिको प्रतिवन्ध खुलाउन अशिम शाहको माग 

३२ जेठ, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद अशिम शाहले टिकटकमाथिको प्रतिवन्ध खुला गर्न माग गरेका छन् ।
आज प्रतिनिधिसभाको शून्य समयमा बोल्दै सांसद शाहले टिकटक खोल्न माग गरेका हुन्।

उनले  हिजोका दिनमा ९० लाखले टिकटक चलाइरहेको अवस्थामा सरकारले बन्द गरे पनि भीपीएनमार्फत अहिले पनि ५० लाखले चलाइरहेको अनौपचारिक तथ्याङ्क रहेको बताए । उनले भनेका छन्,‘हिजोका दिनमा ९० लाखले टिकटक चलाइरहेका थिए भने अहिले पनि ५० लाखले चलाइरहेको अनौपचारिक तथ्याङ्क छ । टिकटकको विकल्पमा फेसबुक रिल, युट्युब सर्ट्स मज्जाले चलेकै छ । यस्तोमा सरकारले विकृति फैलाएको भन्दै सरकारले टिकटकमा लगाएको प्रतिबन्धको औचित्य के भयो त ? सरकारले टिकटक बन्द गरेपछि अपराध घटेको भन्ने तथ्याङ्क त छैन होला । तर टिकटक बन्द भएपछि ब्यान्डविथ घटेर डाटा बिक्रीबाट हुने आम्दानी घटेर एनसेलको १ अर्ब ४४ करोड र एनटिसीको डेढ अर्ब रुपैयाँ घाटा भएको तथ्याङ्कले देखाएको छ ।’

उनले थप भने, ‘अरू पनि सूचीकृत नभएका फेसबुक इन्स्ट्राग्राम जस्ता सामाजिक सञ्जाल बिना रोक तोक चलिरहेका छन् । तर, टिकटकबाट मात्र अपराध फैलिने कुरा स्वीकार्य छैन । त्यसैले अभिव्यक्ति स्वतन्त्रताको सम्मान गर्दै व्यवस्थित ढङ्गले टिकटक खोल्न सरकारसँग आग्रह गर्दछु ।’