|  

राष्ट्रसंघद्वारा म्यान्मारका जुन्ता शासकको निन्दा

याङ्गुन । संयुक्त राष्ट्रसंघले म्यान्मारमा सैनिक ‘कू’को विरोध गर्दै प्रदर्शनका क्रममा गोली चलाउँदा दुई जनाको मृत्युको घटनाको निन्दा गरेको छ। लोकतन्त्र पक्षधरहरूले गरेको प्रदर्शनका क्रममा प्रहरीले चलाएको गोलीको कारण प्रदर्शनकारीको मृत्‍यु भएपछि जुन्ता सरकारको राष्ट्रसंघले निन्दा गरेको हो।

सेनाले सत्ताकब्जा गरेको विरोधमा शनिबार म्यान्डलेमा गरिएको प्रदर्शनका क्रममा २ जनाको मृत्यु भएको थियो । सैनिक ‘कु’ को विरोधमा लोकतन्त्र पक्षधरहरूले विभिन्न सहरमा नियमित प्रदर्शन गर्दै आएका छन् । राजधानी न्यापिटअ, यांगुन, म्यान्डलेलगायत सहरमा ‘कु’ को विरोधमा शनिबार प्रदर्शन गरिएको थियो । म्यान्मारको दोस्रो ठूलो सहर म्यान्डलेमा शनिबार भएको विरोधका क्रममा प्रदर्शनकारी र प्रहरीबीच तनाव बढेको थियो ।

दुई हप्ता भन्दा बढी राष्ट्रव्यापी सडक प्रदर्शनमा शनिबार सबैभन्दा घातक दिनको रुपमा रहेको छ । संयुक्त राष्ट्र संघका महासचिव एन्टोनियो गुटेर्रेसले शनिबारको हिंसालाई ‘घातक हिंसा’ भनि निन्दा गर्नु भएको छ । यस हिंसामा परी दुई जनाले ज्यान गुमाए भने ३० भन्दा बढी जना घाइते भएका छन् । एक चित्सिकका अनुसार मृतकमध्ये एक जनालाई टाउकोमा र अर्कोलाई छातीमा गोली लागेको हो ।

स्थानीय सञ्चार माध्यमले झडपपछि एक दर्जन भन्दा बढी व्यक्तिलाई पक्राउ गरिएको बताएको छ । ‘ग्लोबल न्यू लाइट अफ म्यानमार’ नामक राज्यद्वारा सञ्चालित एक पत्रिकाले मृत्युको बारेमा कुनै उल्लेख गरेको छैन । सुरक्षाकर्मीले कानून बमोजिम गरेका सुरक्षा कदमका कारण केही आक्रमक प्रदर्शनकारीहरू पनि घाइते भएका भनि उक्त पत्रिकाले जानकारी दिएको छ ।