|  

मनसुनी वायु पूर्वबाट पश्चिम सर्ने क्रममा, कस्तो रहला आजको मौसम? 

१ असार, काठमाडौं । मनसुनी वायु विस्तारै पश्चिमतिर सर्न थालेको छ ।

मधेश प्रदेशको पूर्वी भेग र बाग्मती प्रदेशका केही ठाउँमा मनसुनी वायुको प्रभाव देखिन थालेको मौसम पूर्वानुमान महाशाखाले जनाएको  छ ।  मनसुनी वायुकै प्रभावले बाग्मती प्रदेशका अरु ठाउँ र काठमाण्डौको आकाशमा बादल देखिएको  छ । मनसुनी वायु भित्रिनेबित्तिकै पानी पर्छ भन्ने हुँदैन ।

तर आज दिउँसो कोशी र बाग्मती प्रदेशका केही ठाउँ तथा मधेश र गण्डकी प्रदेशका थोरै ठाउँमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । अहिले कोशी र बाग्मती प्रदेशका केही ठाउँमा मनसुनी वायुकै प्रभावले वर्षा भएको छ । मनसुन पश्चिमतिर पुग्न भने अझै केही दिन लाग्नेछ ।

त्यसैले लुम्बिनी र सुदूरपश्चिम प्रदशेका तराई भेगमा अझै केही दिन गर्मी कायमै रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । केही दिनदेखि पश्चिम तराईका धेरै ठाउँको तापक्रम ४० डिग्री सेल्सियसभन्दा माथि पुगेको छ । नेपालमा यसपटक औसत समयभन्दा तीन दिन छिटो जेठ २८ गते मनसुन भित्रिएको हो ।