|  

कुवेतको आगलागीमा परेर ज्यान गुमाएका ४५ शव भारत ल्याइयो

१ असार, काठमाडौं ।  कुवेतमा भएको अगालागीमा परेर ज्यान गुमाएका ४५ जना भारतीय नागरिकको शव हिजो भारत ल्याइएको छ ।

एयर इण्डियाको उडानबाट शव भारतको दक्षिणी राज्य केरलको कोची शहरमा ल्याइएको हो । कुवेतको माङ्गफ शहरमा गएको बुधबार भएको आगलागीमा परेर ५० जनाको मृत्यु भएको थियो । त्यसमा ४५ जना भारतीय, तीन फिलिपिन्सका नागरिक रहेका छन् । अरु दुई जनाको पहिचान हुन सकेको छैन । यसैबीच भारतको उत्तराखण्डको वन्यजन्तु आरक्षणमा भएको आगो निभाउँनेक्रममा चार जना वन अधिकारीको मृत्यु भएको छ ।

उत्तराखण्डको राजधानी सहर देहरादुनबाट झण्डै तीन सय ७० किलोमिटर पूर्वमा रहेको अल्मोडा जिल्लाको सिभिल सोयाम वन डिभिजनअन्तर्गत रहेको बिनसर वन्यजन्तु आरक्षणमा आगलागी भएको हो । वनमा आगलागी हुनुको मुख्य कारण गर्मी र सुख्खा मौसम मानिएको छ ।