|  

म मेरो टोलीबाट गौरवान्वित छुः कप्तान पौडेल

१ असार, काठमाडौं । नेपाली क्रिकेट टोलीका कप्तान रोहित पौडेलले आफ्नो टोलीलाई विश्वका ठुला भनिएका टोलीहरूसँग अझ बढी खेल्ने अवसर आवश्यक रहेको बताएका छन् ।

शनिबार दक्षिण अफ्रिकाविरुद्ध जितको नजिक पुगेर पनि पराजित भएपछि कप्तान पौडेलले यस्तो बताएका हुन् ।
‘हामीले जसरी बलिङ र ब्याटिङ गर्‍यौँ, म मेरो टोलीबाट गौरवान्वित छु,’ पौडेलले भने, ‘हामी धेरै नजिक पुगे पनि केही टाढा नै रह्यौँ । तर, हामीले जसरी लड्यौँ, त्यो राम्रो थियो । हामीले नियमित रूपमा ‘एक्सपोजर’ पायौँ भने अर्को खेलमा हामी (नतिजाको) अर्को साइडमा हुनेछौँ ।

१ सय १६ रनको मध्य लक्ष्य पछ्याएको नेपाल लामो समयसम्म खेलमा दक्षिण अफ्रिकामाथि हाबी थियो । तर, ताब्राइज साम्सीले १८ औँ ओभरमा २ विकेट लिएपछि नेपाललाई धक्का लागेको थियो ।

अन्तिम ओभरमा नेपाललाई जितका लागि ७ रन चाहिएको थियो । तर, ओटनियल बार्टम्यानले त्यसलाई सफलतापूर्वक रक्षा गरे । अन्तिम बलमा नेपालले दुई रन बनाउन सकेको भए खेल जित्ने थियो। तर, नेपालले एक रन पनि लिन सकेन ।