|  

फालमा हिमाली रङ्गशाला सबैभन्दा अग्लो स्थानमा बन्दै

०१ असार, काठमाडौं । सहरी विकास मन्त्री धनबहादुर बुढाले नेपालको सबैभन्दा उच्च ठाउँमा खेलकुदका लागि रङ्गशाला बनाउन लागिएको बताएका छन् ।

डोल्पाको डोल्पो बुद्ध गाउँपालिकाको फालमा हिमाली रङ्गशाला निर्माण गरिने र त्यसका लागि सहरी विकास मन्त्रालयबाट ६० लाख बजेट विनियोजन गरेको उनले बताएका हुन् । झन्डै ३८ सय देखि ४ हजार मिटर उचाइमा रङ्गशाला बनाउन लागिएको उनको भनाइ छ । उनले डोल्पोबुद्ध गाउँपालिका, शे फोक्सुण्डो गाउँपालिका र छार्का ताङसोङ गाउँपालिकाका लागि हिमाली रङ्गशाला बनाइन लागिएको बताए ।

यस्तै डोल्पा सदरमुकाम दुनै बजारमा बृहत् भेला, बैठक सम्मेलन तथा कार्यक्रम सञ्चालन गर्नको लागि जिल्ला समन्वयको परिसरमा एउटा ठुलो सभाहल निर्माण गरिने बताए । सहरी विकास मन्त्रालयले यसका लागि १ करोड ५३ लाख रकम विनियोजन गरेको जानकारी दिए । दुनैमा व्यवस्थित र आकर्षक बसपार्क निर्माणका लागि १ करोड छुट्याएको बताए ।

यस्तै डोल्पा जिल्लाको पत्रकार महासंघको भवन अहिलेसम्म नभएकोले भवन निर्माणका लागि २५ लाख रुपैयाँ रकम छुट्याएको बताए । ठुलीभेरी नगरपालिकाले कार्यान्वयन गर्ने गरी सो बजेट विनियोजन गरिएको हो । सहरी विकास मन्त्रालयको जिम्मेवारी सम्हालेका बुढाले आफ्नो निर्वाचन क्षेत्रका लागि उल्लेख्य मात्रामा बजेट राखेका छन् ।