|  

लुम्बिनीले ल्यायो ३८ अर्ब ९५ करोडको बजेट (पूर्णपाठ)

१ असार, काठमाडौं । लुम्बिनी प्रदेश सरकारले आगामी आर्थिक २०८१/०८२ का लागि ३८ अर्ब ९५ करोड रूपैयाँको बजेट ल्याएको छ ।

कृषि, रोजगार र पर्यटनलाई प्राथमिकता दिएर आर्थिक मामिला तथा योजना मन्त्री चेतनारायण आचार्यले कुल ३८ अर्ब ९५ करोड, ९५ लाख ३६ हजार रूपैयाँको बजेट शनिबार प्रदेश सभामा सार्वजनिक गरेका हुन् ।

विनियोजित बजेटमध्ये चालूतर्फ ११ अर्ब २५ करोड २७ लाख ८४ हजार अर्थात २८ प्रतिशत र पूँजीगतर्फ २४ अर्ब ५८ करोड, ५९ लाख रूपैयाँ अर्थात ६३ प्रतिशत रहेको छ । त्यस्तै वित्तीय हस्तान्तरणका लागि ३ अर्ब १४ करोड १३ लाख अर्थात् ८.०६ प्रतिशत हुने अनुमान सरकारको छ ।

सरकारले आउँदो वर्षको बजेट चालू आर्थिक वर्षको भन्दा १ अर्ब ५१ करोड रूपैयाँले बजेटको आकार कम गरेको हो । चालू आ.व.को लागि ४० अर्ब ४७ करोड ९७ लाख रुपैयाँको बजेट ल्याएको थियो । खर्चको स्रोत व्यहोर्न प्रदेश सरकारले आन्तरिक स्रोतबाट ७ अर्ब ५१ करोड, संघीय सरकारको राजश्व बाँडफाडबाट प्राप्त हुने राजश्वबाट १२ अर्ब १ करोड, संघीय सरकारबाट प्राप्त हुने रोयल्टी ५० करोड, स्थानीय तहबाट प्राप्त हुने राजश्व २ अर्ब ९२ करोड प्राप्त हुने सरकारको अनुमान छ ।​​​