|  

काठमाडौंमा हिजो ३५ वर्षयताकै धेरै गर्मी, कस्तो रहला आजको दिन ? 

२ असार, काठमाडौं ।  काठमाडौं उपत्यकामा हिजो यो वर्षकै सबैभन्दा बढी गर्मी भएको छ ।

हिजो काठमाडौंको अधिकतम तापक्रम ३५. ३ डिग्री सेल्सियस मापन भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । गएको जेठ १७ गते काठमाण्डौको अधिकतम तापक्रम ३४.४ डिग्री सेल्सियस पुगेको थियो । यसअघि २०४६ साल वैशाख २५ गते काठमाडौंको तापक्रम ३६ दशमलव ६ डिग्री सेल्सियस मापन भएको थियो ।

३५ वर्षपछि काठमाण्डौमा हिजो सबैभन्दा धेरै गर्मी भएको हो । ६ दिनअघि पूर्वबाट भित्रिएको मनसुन अझै मध्य र पश्चिम क्षेत्रसम्म नफैलिएकाले काठमाडौंसहित पश्चिमी क्षेत्रमा गर्मी बढेको छ । लुम्बिनी र सुदूरपश्चिमका तराईका धेरै ठाउँमा तापक्रम ४० डिग्रीभन्दा माथि पुगेको छ ।कोशीसहित मधेश र बाग्मती प्रदेशको पूर्वी भेगसम्म मनसुनको प्रभाव देखिएको छ ।

गएराति काठमाडौंसहित बाग्मती र कोशी प्रदेशका केही ठाउँमा पानी परेको छ । अहिले देशको पूर्वी भू–भागमा मनसुनी प्रणालीको प्रभाव रहेको र बाँकी भू-भागमा स्थानीय वायु, पश्चिमी वायु तथा भारतको बिहार आसपास रहेको न्यून चापीय क्षेत्रको आंशिक प्रभाव रहेको मौसम पूर्वानुनमान महाशाखाले जनाएको छ ।महाशाखाका अनुसार आज कोशी, बाग्मती र गण्डकी प्रदेशका केही ठाउँमा तथा मधेस प्रदेशलगायत बाँकी भू-भागका एक / दुई ठाउँमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।