|  

आठ दिनदेखि बेपत्ता महिलाको शव फेलाः ह#त्या गरेको श्रीमानको बयान

०२ असार, काठमाडौं । धनुषाको महेन्द्रनगरबाट आठ दिनदेखि बेपत्ता एक महिलाको शव भेटिएको छ ।

जिल्लाको क्षीरेश्वरनाथ नगरपालिका-५, महेन्द्रनगरकी २८ वर्षीया रुबी यादवको शव सडेगलेको अवस्थामा शनिबार भेटिएको हो । गत शनिबारदेखि हराइरहेकी रुबीको खोजी गर्न उनका भाइ अनितले इलाका प्रहरी कार्यालय महेन्द्रनगरमा उजुरी दिएका थिए । रुबी बेपत्ता भएको उजुरी परेपछि सम्भावित स्थानमा खोजतलास गर्दा शनिबार राति मिथिला नगरपालिका-५, स्थित औरही सामुदायिक वनमा शव फेला परेको प्रहरीले जनाएको छ ।

रुबी बेपत्ता भएको उजुरी पर्ने बित्तिकै रुबीका श्रीमान राजनारायण यादवलाई प्रहरीले नियन्त्रणमा लिएका थिए । उनले श्रीमतिको हत्या गरेको पनि स्वीकार गरेका छन । प्रहरी निरिक्षक साहका अनुसार राजनारायणले गत शनिबार घुम्न जाने भनेर औरही सामुदायिक वनमा श्रीमतिलाई लिएर गएको र त्यहीँ हत्या गरेर जङ्गलमा लास फालेको बयान दिएका छन । प्रहरीका अनुसार रुबीको श्रीमान  यादव केही महिनाअघि वैदेशिक रोजगारीबाट फर्केका थिए । स्वदेश फर्किएपछि यादवसँग निरन्तर झगडा हुँदै आएको थियो ।